ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख, ९ कात्तिक (जागरण) । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ भुवाटाकुरामा उक्त ट्याक्टर दुर्घटना हुँदा चालक नरेश भनेर चिनिने नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।
भे १ त ३५४२ नम्बरको ट्याक्टर सडकदेखि १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरमा सवार चालक शाहीकी बहिनी १९ वर्षीया मनिषा शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुर प्रसाद पोखरेलले बताउनुभयो ।
चामुण्डा उच्च माविको भवन निर्माणको लागि बालुवा ल्याउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।