यसरी श्रम गरे कर्णालीका मन्त्रीहरुले…

सुर्खेत, १५ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले आज श्रम दिवस मनाएको छ । दिवसको अवसर पारेर मन्त्रीहरुले आज वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सरसफाई गरेका छन् ।
श्रमप्रति सम्मान जगाउन र काम गर्ने संस्कृतिको विकास गर्न भन्दै प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णय गरेको छ ।
सोही निर्णय अनुसार आज मुख्यमन्त्री, मन्त्री, सांसद र सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरुले बुलबुले उद्यानमा सरसफाईको काम गरेका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रम गर्ने बानीको विकास गराउन र काम गर्न लाज मान्ने संस्कृतिको अन्त्यका लागि आफूहरु श्रममा निस्किएको बताउनुभयो । यसले सर्वसाधारणलाई काम गर्न प्रेरणा मिल्ने उहाँको भनाई छ ।
हामीले आफु ठूला भएर अहिलेसम्म अरुलाई काम गराउन जान्यौैँ तर आफुले काम गरेनौँ’ उहाँले भन्नुुभयो, ‘ त्यस कारण हामीले क्याविनेटबाटै निर्णय गरेर हामी आफैबाट श्रम गर्ने सुरुवात गरेका हाैँ ।’


उहाँले विदेशमा गएर श्रम गर्न लाज नमान्ने तर स्वदेशमा आफ्नै समाजमा श्रम गर्न लाज मान्ने प्रवृत्ति अन्त्य गर्नका लागि प्रदेश सरकारको नेतृत्वमा महिनाको दुई दिन श्रम दिनका रुपमा मनाउन सुरु गरिएको बताउनु भयो । उहाँले कर्णाली प्रदेशलाई सभ्याताको परिचय दिन पनि आवश्यक रहेको बताउनु भयो ।
‘अरुको कुरा काट्ने र अल्छी गर्ने प्रवृत्तिले हामीलाई उभो लाग्न दिइएको छैन् । हामी सबैले विकास र समृद्धि चाहेका छौँ’ उहाँले भन्नुभयो, ‘अरुको कुरा काट्ने र अल्छी गर्नेहरुलाई घृणाको पात्र बनाइनुपर्छ र समृद्धिका लागि माटो खन्नुपर्छ र पहाड फोड्नुपर्छ । यसका लागि हामीले समृद्धिका कुरा मात्र नगरेर अब आफ्नो पाखुरा चलाउन आवश्यक छ ।’


श्रम गर्न कर्णाली प्रदेशका सबै मन्त्रीहरु बुलबुले पुगेका थिए । सो अवसरमा उद्यान र बुलबुले तालमा रहेको फोहोर सफा गरिएको छ । सरसफाई गर्दै मुख्यमन्त्री शाहीले अब बुलबुले र कांक्रेविहारलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।