सुर्खेत, १२ कात्तिक (जागरण) । कर्णालीमा गत साउन २५ गते यता संसद बैठक चल्न सकेको छैन । पछिल्लो समय संसद बैठक बोलाउने र प्राविधिक कारण भन्दै सुचना टाँसेर स्थगित गर्ने गरिएको छ ।
सरकार र संसदबीचको असमझदारीका कारण साढे दुई महिनादेखि संसद नै बन्धक बन्न पुगेको हो । असोज २६ गते सुचना टाँसेर स्थगित भएको संसद बैठक अाईतबारका लागि बोलाइएको थियो । तर सुचना टाँसेर मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।
चालु आर्थिक वर्षको बजेट पारित गरेर गत साउन २५ गते अनिश्चितकालका लागि संसद बैठक स्थगित गरिएको थियो । बल्लतल्ल करिब दुई महिनापछि असोज २३ गते संसद बैठक बोलाइएको थियो ।
तर त्यसदिन प्रतिपक्ष कांग्रेसले बैठक सुरु हुन नपाउँदै अवरोध गरेपछि सुचना टाँसेर बैठक नै स्थगित गरियो थियो । त्यसयता संसद बैठक चल्न सकेको छैन । बैठक बोलाउने र अन्तिम समयमा सुचना टाँसेर स्थगित गर्ने गरिएको छ ।
कांग्रेसले रातो किताब उपलब्ध गराउनुपर्ने र हालसम्मको अवस्थाबारे मुख्यमन्त्रीले संसदमा नै जबाफ दिनुपर्ने अडान लिएको छ । चार पटकसम्म सुचना टाँसेर बैठक स्थगित हुँदासमेत सरकारले रातो किताब उपलब्ध गराएको छैन ।
यस्तै मुख्यमन्त्रीको जबाफ नआएको भन्दै कांग्रेसले संसद चल्न नदिने अडान कायमै राखेको छ । जसका कारण संसद चल्न नसकेको हो ।