सांसद भन्छन्ः बजेट आफन्तलाई बाँडियो (अडियोसहित)

सुर्खेत, १५ कात्तिक (जागरण) । आफन्तलाई बजेट बाँडिएको भन्दै कर्णाली प्रदेशका सांसदहरू प्रदेश सरकार विरुद्ध खनिएका छन् । सरकारले प्रदेशको विकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन् । करिब चार महिनापछि मंगलबार सरकारले सांसदहरुलाई उपलब्ध गराएको रातो किताबमा केन्द्रित रहेर बोलेका सांसदहरुले सरकार असफलताको बाटोतिर लम्किएको जिकीर गरेका हुन् ।
बुधबार बसेको संसद वैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले बजेट भाषणमा ल्याएका योजनाहरु रातो किताबमा नसमेटिएको भन्दै सांसदहरुले आक्रोश पोखेका हुन् ।
वैठकको शुरुमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाहीले बजेटको आलोचना गर्दै आफन्तलाई बजेट बाँडेको बताउनुभयो ।

उहाँले बजेट भ्रष्टाचारीमुखी बजेट आएको भन्दै अब सरकारबाट आफूहरुलाई कुनै आशा नरहेको जिकीर गर्नुभयो ।

यस्तै, नेकपाका सांसद अम्बरबहादुर थापाले यो बजेट जनताको जीबनस्तर उकास्नेतर्फ केन्द्रित नभएको बताउनुभयो ।

यस्तै, सांसद विन्दमान विष्टले सरकारको यो रवैयाले जनतालाई बाँडेको सपना पुरा नहुने बताउनुभयो ।  योजना वितरणमा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित भएको भन्दै उहाँले अाक्राेश पाेख्नुभयाे ।

सांसद पदमा खड्काले समावेशीताको आधारमा बजेट नआएको भन्दै बजेट कार्यान्ववयनमा चिन्ता व्यक्त गर्नुभयो ।