गोरीकलाको हत्याबारे संसदमा वहस

सुर्खेत, १५ चैत (जागरण) ।
कर्णाली प्रदेशका सांसदहरुले सुर्खेतको बाबियाचौरमा गोरीकला रोकायको बलात्कारपछि हत्या गरिएको भन्दै कडा कारवाही गर्न माग गरेका छन् ।
आज बसेको संसद वैठकमा सांसदहरुले प्रहरीकै संलग्नतामा गोरीकलाको हत्या हुनु दुःखद भएको भन्दै यसको तत्काल छानविन गर्न माग गरेका हुन् ।
घटनाको अनुसन्धान बारे सरकारले संसदमा जानकारी दिनुपर्ने भन्दै उनीहरुले सुरक्षाको प्रत्याभुति गर्न सरकारलाई आग्रह गरे ।
वैठकमा एमाले सांसद पद्मा खड्काले गोरीकलाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो ।
यस्तै, सांसद मिनासिं रखालले कर्णाली प्रदेशमा महिलाहरु असुरक्षित बन्दै गएको बताउनुभयो । सरकारले सुरक्षा दिन नसकेको भन्दै उहाँले महिलामाथि भईरहेका हिंसाबारे संसदको ध्यानाकर्षण गराउनुभयो ।
संसद वैठकमा बोल्दै सांसद विन्दमान विष्टले गोरीकलाको हत्यामा प्रहरीको संलग्नता हुनुले सुरक्षा चुनौति देखिएको बताउनुभयो । उहाँले प्रहरीको सवलीकरणमा सकारको ध्यान जानुपर्ने बताउनुभयो ।
आजको संसद वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गोरीकलाको हत्यामा संलग्नलाई सरकारले कार्वाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
घटनाको छानविनका लागि सिआईबीको टोली आउन लागेको उहाँले जानकारी दिनुभयो ।
एक महिनापछि आज बसेको संसद वैठकमा आर्थिक कार्यविधी सम्बन्धी विधेयक र प्रदेशसभा नियमावली सम्बन्धी मस्यौदा पेश भएका छन् ।
वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक संसदमा पेश गर्नुभयो ।
आजको संसद वैठकमा सांसद सीता नेपालीले प्रदेशसभाका काम कारवाही नियमित रुपले संचालन गर्न सहज हुने भन्दै प्रदेशसभा नियमावली सम्बन्धी मस्यौदा पनि पेश गर्नुभयो । संसदको अर्को वैठक यही चैत २० गते बस्नेछ ।