सुर्खेत, १८ कात्तिक (जागरण) । कर्णाली प्रदेशमा संसदको दोस्रो अधिवेशन अन्त्य भएको छ । दोस्रो अधिवेशनमा ४१ वटा बैठक बसेका छन् । यो अवधिमा प्रदेश सभाले विभिन्न कानुनहरु निर्माण गरेको छ ।
चालु आर्थिक वर्षको बजेट र प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेको प्रदेश सभाको दोस्रो अधिवेशन आजबाट अन्त्य भएको हो ।
दोस्रो अधिवेशनको आज बसेको अन्तिम बैठकले दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सभाका पदाधिकारी र सदस्य तथा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धी विधेयक पारित भएका हुन् ।
अघिल्लो वर्ष माघ २१ गते सुरु भएयता संसदले विभिन्न १७ वटा विधेयक पारित गरेको छ । नौ महिनाको अवधीमा १७ वटा कानुन निर्माण गरिएको संसद सचिवालयले जनाएको हो ।
यो अवधीमा संसदमा जम्मा २० वटा विधेयक दर्ता भएका थिए । जसमा १७ वटा पारित भएका हुन् । बाँकी तीन वटा विधेयक समितिमा छलफलमै छन् ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नौ महिनाको अवधीमा प्रदेश सभाले संन्तोषजनक काम गरेको दाबी गर्नुभयो ।
यस्तै नेकपाका सांसद यामलाल कँडेलले कर्णालीको समृद्धिको लागि संसदले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सांसद शोशिला शाहीले जनताको भावना अनुसार संसदले काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।