सुर्खेत, १७ चैत (जागरण) । पत्रकारहरुको पेशागत सुरक्षा र हकहितका लागि महासंघको भूमिका सशक्त हुनुपर्ने सुर्खेतका पत्रकारहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । दिवसको अवसरमा शुक्रवार विहान प्रभातफेरि निकालिएको थियो ।
स्थानीय मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गरी पिपलचौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभाका बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुको पेशागत हीत र सुरक्षाका लागि राज्यको भुमिका पनि महत्वपुर्ण हुने बताउनुभयो ।
महासंघ शाखा सुर्खेतका पुर्व अध्यक्ष मोतिलाल पौडेलले प्रदेश समृद्धिका लागि पत्रकार अग्रसर हुनुपर्ने सुझाव दिनुभयो । सभामा बोल्दै प्रेस सेन्टरका कर्णाली प्रदेश संयोजक धुर्व बुढाथोकीले श्रमजीवी पत्रकारहरुका लागि महासंघले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुभकामना व्यक्त गरेका थिए । महासंघ सुर्खेतका सचिव सुदिप पुरीले अग्रजहरुले देखाएको बाटोमा महासंघ हिंड्ने र श्रमजीवि पत्रकारहरुका वारेमा अझ सशक्त हुने जानकारी दिनुभयो ।