कर्णालीका अधिकांश बालबालिकामा कुपोषण, स्वास्थ्यकर्मीको सल्लाह यस्तो छ (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, २५ कात्तिक (जागरण) । गरिव प्रदेशले चित्रित कर्णाली प्रदेशका अधिकांश बालबालिका कुपोषणको शिकार बनेका छन् । पर्याप्त स्तनपान र सन्तुलित खाना नपाउँदा कर्णालीका आधाभन्दा बढी बालबालिकामा यस्तो समस्या देखिएको हो । कुपोषणका कारण प्रदेशका ५४ प्रतिशत बालबालिकामा उमेर अनुसार पुड्कोपना देखा परेको छ ।
शरीरलाई आबश्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने समस्यालाइ कुपोषण भनिन्छ । चिकित्सकहरूकाअनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण बनेको छ । जसका कारण नेपाली बालबालिकाहरूको शारिरिक तथा मानसिक विकास प्रभावित भएको छ ।
बालबालिकालाई यसबाट जोगाउनको लागी खानपिनमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर नवराज केसी ।
शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ ।
नेपाल सरकारको पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो समय देशभर हाल ३६ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्कोपना देखिएको छ ।
सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याकंमा कर्णालीका ५४ दशमलव पाँच प्रतिशत बालबालिका कुपोषणका कारण पुड्कोपना देखिएको छ ।
जन्मेको एक घण्टाभित्र शिशुले आमाको दुध खान नपाउनु, जन्मेको ६ महिनासम्म आमाको दुधमात्र नखुवाउनु, शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दुध नखुवाउनु, पाउडर दुध खवाउनु र उमेर अनुसार आमा र बच्चाले पोषिलो खाना नखाँदा बालबालिका कुपोषणको मारमा परेका हुन् ।
प्रदेशमा कुपोषणको समस्या देखिएका बालबालिकालाई अहिले प्रदेश अस्पतालमा राखेर हेरचाहँ भइरहेको प्रदेश अस्पताल पोषण पुनस्थापना गृहका इन्चार्ज प्रभा सिंहले बताउनुभएको छ ।
कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा रहेको गरिवी र भोकमरीका कारण पनि बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा रहेको पछिल्लो तथ्याङ्क अनुसार रुकुम पश्चिममा २ सय ६८ ,सल्यानमा ५ सय ३९ सुर्खेतमा ४ सय ३८ दैलेखमा ८ सय १५ जाजरकोटमा ६ सय ४७ डोल्पामा १ सय ६४ जुम्लामा २ हजार ८८ कालीकोटमा २ हजार ८२ मुगुमा ६ सय ८३ र हुम्लामा १ सय ३२ जना बालबालिका कुपोषणबाट प्रभावित भएका छन् ।
बालबालिकामा देखिएको यस्तो समस्या कम गर्न सामाजिक विकास मन्त्रालयले पोषण निर्देशक समिति बनाउन लागेको स्वास्थ्य महासाखा प्रमुख विर्षबहादुर शाहीले बताउनुभयो । उहाँकाअनुसार हाल केही जिल्लामा वहुक्षेत्रिय पोषण कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
प्रदेशका जम्मा बालबालिकामध्ये ३५ प्रतिशत बालबालिका कम तौल तथा ३४ प्रतिशत बालबालिकामा पोषणयुक्त भोजनको अभावमा रक्तअल्पताको समस्या देखिएको छ । बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास जन्मेको दुई वर्षभित्रमा हुने भएकाले यो अवधीमा पोषणयुक्त खाना र स्तनपानमा ध्यान दिनुपर्ने हुन्छ ।
अडियो रिपोर्ट सुन्नुहोस्ः