थाइराइड के हो र कसरी जोगिने ? (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, २६ कात्तिक (जागरण) । वीरेन्द्रनगर ३ कि नैनाकला भण्डारी बिगत २ महिनादेखी थाइराइडबाट पिडित हुनुहुन्छ । उहाँलाई थाइराइडको समस्याले सताइरहेको छ । घाँटीमा देखिने यो समस्याका कारण नैनाकला पिडीत हुनुहुन्छ ।

उहाँ मात्रै होईन कर्णाली प्रदेशका धेरै नागरिक अहिले यो समस्याबाट गुज्रिरहेका छन् । प्रदेश अस्पतालका डाक्टर के.एन. पौडेलकाअनुसार विगतका बर्षहरुको तुलनमा थाइराइडका बिरामीको सख्या बढ्न थालेको छ । मानिसको अव्यवस्थित जीवनशैली र तनावका कारण यो रोगका बिरामीको संख्यामा लगातार बृद्धि भइरहेको बताउनुहुन्छ डाक्टर पौडेल ।

नेपालमा थायराइड रोगबाट अधिकांश महिलाहरु पीडित बन्दै गएका छन् । पुरुषहरुको तुलनामा यो रोग ६ गुणा बढी महिलाहरुमा देखिने गरेको पाइन्छ । थायराइड बिरामीमा पनि ८० प्रतिशत संख्या महिलाको छ । थाइराइड ग्रन्थीले ठीकसँग काम नगर्दा शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या शुरु हुने डाक्टर पौडेल बताउनुहुन्छ ।
नेपालका अस्पतालमा पुग्ने ५ प्रतिशत व्यक्तिमा यसको समस्या देखिने गरेको पाइन्छ । थाइराइड रोग लागेमा थकाई लाग्ने, रोग प्रतिरोधात्मक क्षमतामा कमजोर हुने, छाला सुख्खा हुने, तौल बढ्ने, एवंम् हात र खुट्टा चिसो हुने, कपाल झर्ने, अल्छी लाग्ने, महिनावारीमा गडबडी हुने तथा निःसन्तान हुने जस्ता सामान्य समस्यामा पनि थायराइड हर्मोनको समस्याको कारण हुने गर्दछ ।

पछिल्लो समय भर्खर जन्मेका शिशुमा पनि यसको समस्या देखिन थालेको छ । गर्भावस्थामा महिलामा थायराइड देखिएमा बच्चा जन्मिएको ७२ घण्टाभित्र जन्मिएको बच्चाको थायराइड परीक्षण गराउन डाक्टरको सुझाव छ ।

सुन्नुहोस् अडियो रिपोर्टः