छोरी बचत खाताले स्थानिय हर्षित (अडियोे सहित)

मुना हमाल ।
सुर्खेत, २८ कात्तिक (जागरण) । स्थानीय सरकार गठन भएको साढे एक वर्ष वितेको छ । यो अवधीमा स्थानीय सरकारले धेरै लोकप्रिय नीति तथा कार्यक्रम पनि ल्याएका छन् । त्यसमा पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले नगरमा जन्मिने हरेक छोरीको बैंकमा खाता खोलिदिने गरेको छ । छोरी जन्मिने वित्तिकै बैंकमा नगरपालिकाले खाता खोलिदिएपछि वीरेन्द्रनगर नगरपालिका १० खजुरा निवासी खेमा गौतमले आफ्नी छोरीको नाममा खुलेको त्यही बैँकको खातामा अहिले पैसा जम्मा गरिरहनु भएको छ । नगरपालिकाको यो कामले आफ्नो छोरीको भविष्यका लागि सहयोग पुग्ने बताउनुहुन्छ खेमा गौतम ।
अहिले पनि समाजमा छोरी जन्मदा नाक खुम्चाउने र छोरा जन्मदा भोज खुवाउने प्रचलन कायमै छ । यही मान्यतालाई चिर्न र छोरीप्रति सम्मान बढाउनका लागि नगरपालिकाले यो योजना अगाडी सारेको हो । छोरीमैत्री नगर बनाउने नगरपालिकाको यो अभियानलाई वीरेन्द्रनगरका १० का रविन्द्र रेग्मी र निशा पौडेल रेग्मीले पनि आत्मसाथ गर्दै आफ्ना दुई जना छोरीको नाममा बैंकमा खाता खोलिदिनु भएको छ । छोरीको नाममा हरेक महिना पाँच÷पाँच हजार खातामा वचत गर्दै आएको बताउनुहुन्छ रबिन्द्र रेग्मी ।
छोरीमैत्री नगरपालिका बनाउने योजनाका साथ अघि बढेको नगरपालिकाले छोरीमाथि हुने विभेदलाई अन्त्य गरी उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने लक्ष्य लिएको छ । हालसम्म नगरपालिकाभित्र जन्मिएका मध्ये ७० जना छोरीहरुको नाममा नगरपालिकाले बैंकमा खाता खोलिदिएको छ । छोरीहरुको सम्मान, संरक्षण, सम्पति माथिको अधिकारका लागि छोरी जन्मिने वित्तिकै खाता खोलिदिने गरेको नगरपालिकाले जनाएको छ । छोरी भन्नेबित्तिकै गर्भदेखि नै विभेद गरिने भएकाले नै यो विभेद तोड्नका लागि वैंकमा खाता खोलिदिने गरेको बताउनुहुन्छ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल ।
अहिले छोरीका नाममा खोलिएको वैंक खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । आर्थिक रुपमा सवल भए छोरीहरुको शिक्षामा सहयोग पुग्ने र उनीहरुमाथिको हिंसामा कमि आउने अपेक्षा गरिएको छ । अहिले शिक्षित भनिएका अभिभावकमा पनि छोरा र छोरी बराबर हुन् भन्ने भावना व्यवहारमा पाउन मुस्किल छ । यस्तो अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले थालेको यो अभियानलाई थप प्रभावकारी बनाउन सकेमा वीरेन्द्रनगर साँच्चिकै छोरीमैत्री नगर बन्नेछ ।
सुन्नुहोस् अडियो रिपोर्टः