जाउँ अब घुम्नलाई रारा ताल

सुर्खेत, १७ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी वर्ष देखि मनाउने योजना बनाएको कर्णाली– रारा पर्यटन वर्ष २०७५ को तयारी तिव्र गतिमा थालेको छ ।
प्रदेशको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार मानेर प्रदेश सरकारले आउँदो वर्षलाई पर्यटन वर्षका रुपमा मनाउन लागेको हो ।
पर्यटन वर्षको तयारीका क्रममा प्रदेश सरकारले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी लोगो र नारा सार्वजनिक गरेको छ ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लोगो र नारा सार्वजनिक गर्नुभएको हो । लोगोमा राराको तश्विर र सुर्यको चित्र राखिएको छ । प्रदेश सरकारले ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नारा तय गरेको छ ।

पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
आगामी वर्ष प्रदेश सरकार कर्णालीमा दैनिक एक हजार पर्यटक भित्र्याउने लक्ष्यका साथ अघि बढेको छ । पर्यटन वर्ष कार्यक्रमका प्रचारप्रसार संयोजक एव्म सामाजिक विकास मन्त्री दल रावलले आगामी वर्ष कर्णालीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको जानकारी दिनुभयो ।
रोजगारीका अवसर श्रृजना गर्नका लागि पनि पर्यटन वर्ष मनाउन लागिएको उहाँले बताउनुभयो ।
कर्णालीलाई पर्यटनको हवका रुपमा विकास गरी यहाँ रहेका पर्यटकिय गतिविधिमार्फत समृद्धिको बाटो खोजिने प्रदेश सरकारले तयारी गरेको छ । सामाजिक विकास मन्त्री रावलले पर्यटन वर्ष मनाउँदै गर्दा त्यस अवधिमा कर्णाली प्रदेशका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गरिने पनि बताउनुभयो ।

सरकारी बजेटबिना विकास गर्ने निती अवलम्बन गरिने
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीमैत्री वातावरणको श्रृजना गरी सरकारी बजेटबिना विकास गर्ने निती अवलम्बन गरिने बताउनुभयो । पर्यटन वर्षका माध्यमबाट पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा आजैदेखि लाग्न पनि उहाँले आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले यो वर्षदेखि रारा लगायत अन्य पर्यटकीय गन्तब्यका लागि रुटहरु बनाउने, प्रचार प्रसार गर्ने र आवश्यक प्रर्वद्धनातमक कार्यक्रमहरु गरिने जानकारी दिनुभयो । यसका साथै प्रदेश भरि लुकेर रहेका सम्पदा, क्षेत्रहरुलाई पर्यटन गन्तब्य बनाउन खोज तथा अनुसन्धान समेत गरिने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले आगामी वैशाख १ गते रारामा टेलिफोन सेवा सुचारु गरिने र इन्टरनेटको समेत व्यवसथा गरिने बताउनुभयो । ‘पत्रकार तथा अन्यका लागि रारामा वल्र्ड लिंकले इन्टरनेटको व्यवस्था गर्दैछ ।’ उहाँले भन्नुभयो, ‘टेलिफोनका लागि पनि नेपाल टेलिकमले केहि न केहि व्यवस्था गर्नेछ ।’

रारासम्म जानलाई बाटो मर्मत गरिने
भौतिक यातायात तथा पुर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले रारासम्म जानको लागि बाटो मर्मत गर्न थालिएको बताउनुभयो । उहाँले कोहलपुरदेखि जुम्लासम्म र गमगढिदेखि नाक्चेलाग्नासम्मको सडक निर्माणको काम तत्काल अघि बढाईने पनि जानकारी दिनुभयो ।
खत्रीले सुर्खेत देखि दैलेखको दहिखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली राजमार्गमा रहेका खाल्डा पुर्ने काम सुरु गरेको छ भने दहिखोला देखि रारासम्म सडक डिभिजन कार्यालय जुम्लाले मर्मत गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको पहिलो प्राथमिकतामा पहुँच मार्ग निर्माण रहेको जानकारी दिनुभयो।

राराबाटै प्रधानमन्त्रीको सम्बोधन
यसैबिच, कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटन समारोहबाटै प्रधानमन्त्री केपी शर्माले देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । यस्तै, कर्णाली प्रदेशको तेस्रो मन्त्रीपरिषद बैठक पनि रारामा बस्ने बताईएको छ ।
मन्त्रीरिषदको बैठकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका योजनाका बारेमा छलफल गर्ने एजेण्डा रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
सोही दिन प्रदेशको उत्तरी नाका मुगुको हिल्सा, डोल्पाको से–फोक्सुण्डो र कालिकोटको पँचालझरनामा प्रधानमन्त्रीले भ्रमण गर्नेे उहाँले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु, संघिय सरकारका मन्त्रीहरु, संघिय सांसद, प्रदेश सांसदहरु कुटनितिक व्यक्तिहरु तथा राजदुतहरु, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय नागरिकहरुको सहभागिता रहने बताईएको छ ।