मुना हमाल ।
सुर्खेत, ३० कात्तिक (जागरण) । सुर्खेतको वीरेन्द्रनगर ४ निमबहादुर बोहोरा हरेक दिन विहान ८ बजे नै घरबाट निस्कनुहुन्छ । उहाँ सरासर मुख्य बजारको वीरेन्द्र चोकमा जानुहुन्छ । अनि सडकको छेउमै बसेर जुत्ता र चप्पल सिलाउने काममा जुट्न्हुन्छ । जुता र चप्पल सिलाउने काम नै उहाँको परिवार पाल्ने मुख्य आधार हो । उहाँको यही कामबाट नै दुई जना छोराछोरीसहित चार जनाको परिवार पालिएको छ ।
उहाँका एक छोरा र एक छोरी बोर्डिङ स्कुलमा पढ्छन् । छोरी ६ मा र छोरी तीन कक्षामा पढ्छिन । निमबहादुरले एक हप्ता मात्र जुत्ता र चप्पल सिलाउने तालिम लिनु भएको थियो । सानो लगानीमा व्यवसाय गरेर अहिले उहाँले घरखर्चदेखि सबै छोराछोरीलाई पढाउने खर्चको जोहो यसै व्यवसायबाट गर्दै आउनु भएको छ ।
वीरेन्द्रनगरका विरबहादुर रम्तेलले पनि १७ वर्षको उमेरबाट नै जुता र चप्पल सिलाउने व्यवसाय गर्दै आइरहनु भएको छ । बाबुबाजेबाट सिकेको कामले उहाँको अहिलेसम्म पनि साहारा बनिरहेको छ। उमेरले ६० वर्षको पुगिसक्नु भएका रम्तेलको जुत्ता चप्पल सिलाउने काममा मासिक १२ सयसम्म मात्र खर्च हुन्छ । तर त्यही कामबाट भने उहाँको आम्दानीस् लोभलाग्दो छ । मासिक १२ हजारसम्म कमाई हुने गरेको उहाँ बताउनुहून्छ ।
वीरेन्द्रनगरकै जगदबहादुर सार्कीले आम्दानीका धेरै बाटाहरु खोज्नुभयो । तर अन्तिममा २० वर्षअघि बुबाबाट सिकेको सिप नै काम लाग्यो । यहाँ २७ महिनासम्म विदेश गएर पनि बस्नुभयो । साउदीमा काम गर्न निकै गाहे थियो । नसक्ने भारी उठाउनुपर्ने । त्यसछि उहाँ फर्किएर घर आउनुभयो । अहिले उहाँले छोरा र छोरीलाई बोर्डिङमै पढाउनु भएको छ । उहाँले जुत्तामा पोलिस गर्नेकाम गर्नूहुन्छ । रोजगारीका लागि धेरै धाए पनि अहिले जुतामा पालिस लगाउने कामबाट सजिलै घरखर्च चलेको उहाको भनाइ छ ।
सहरमा पैसा कमाउन सजिलो छैन । कामका लागि धेरै ठाउमा धाउनुपर्छ । कतिपय अवस्थामा काम गर्ने रहर भएर पनि अवसर पाइँदैनन् । तर जाँगर र इच्छाशक्ती भए, त्यही सहरभित्र धेरै अवसरहरु पनि छन् । प्रदेश राजधानी भएपछि वीरेन्द्रनगरमा चहलपहल बढेको छ । धेरैका लागि रहरको सहर बनेको वीरेन्द्रनगरमा सानोतिनो लगानीबाट धेरै आम्दानी गरेर सुखसँग जीउनेहरु पनि छन् ।
काम सानो र ठूलो भन्ने हुँदैन । सबैभन्दा ठूलो त मेहनत नै हो । जसले मेहनत गरे, उनीहरुलाई कमाउनका लागि विदेश नै जानु परेको छैन । घरमा परिवारसँग रमाउँदै लोभलाग्दो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदारण वीरेन्द्रनगका सडक छेउमा जुता र चप्पल सिलाउने काममा संलग्नहरुले दिइरहेका छन् । त्यसैले सिप सिकेर मेहनत गर्न सके एक छाक टार्नका लागि जागिर नै चाहिन्छ भन्ने छैन ।
सुन्नुहोस् अडियो रिपोर्टः