सुर्खेत, १ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक महिनादेखि सचिवविहीन हुँदा मन्त्रालयका काम प्रभावित भएका छन् ।
सचिव प्रकाश रघुवंशी कात्तिक १ गते अनिवार्य अवकाश भएयता भौतिक मन्त्रालय सचिवविहीन भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट असोज ६ गतेबाट खटाइएका सचिव रामहरी पोखरेल हाजिर नै नभइ फर्केको भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले जानकारी दिनुभयो ।
विकासको मेरुदण्ड मानिने भौतिक मन्त्रालयमा सचिव, निमित्तसमेत नहुँदा अहिले सबै विकासका काम रोकिएको मन्त्री खत्रीले बताउनुभयो ।
सङ्घीय सरकारको बेवास्ता र सचिवको अटेरीकै कारण कर्णाली प्रदेश सरकारको भौतिक मन्त्रालयले अपेक्षित काम गर्न नसकेको उहाँको भनाइ छ ।
मन्त्रालयमा स्वीकृत दरबन्दीको ५५ प्रतिशत कर्मचारी अभाव अहिले पनि देखिन्छ । रासस