डिपीएलमा आज रुपन्देही च्यालेन्जर्स र सीवाइसी अत्तरिया तथा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स भिड्ने

धनगढी, १८ चैत (जागरण) । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् आजको पहिलो खेल रुपन्देही च्यालेन्जर्स र सीवाइसी अत्तरिया तथा दोस्रो खेल महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच हुनेछ ।
यसअघि हिजोको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।
शनिबार धनगढीस्थित संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको खेलमा साविक विजेता टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले विजजी सुरुआत गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित् २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनील धमलाले दुई छक्का र ८ चौकाको मद्दतले ६८ रनको योगदान गर्नुभयो । यस्तै, शंकर रानाले ३६ रन र राजु रिजालले ११ रन जोड्नुभयो । अरु खेलाडीले दोहरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ काठमाडौं गोल्डेन्सका साहब आलम एक्लैले महत्वपूर्ण ३ विकेट लिनुभयो । उहाँले १८औं ओभरमा लगातार ३ विकेट लिनुभएको थियो ।
१८औं ओभरको तेस्रो बलमा सुनील धमलाको विकेट लिएलगतै अर्को बलमा धनगढीका कप्तान सोमपाल कामीलाई काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट गराउनुभयो । ओभरको पाँचौं बलमा सोनु तामाङको विकेट लिँदै उहाँले ह्याट्रिक पूरा गर्नुभयो ।
जवाफमा १४६ रनको विजयी लक्ष्य काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्‍यो ।
काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले ९ चौका र ४ छक्काको मद्दतले ८१ रन जोड्नुभयो । उहाँ खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित हुनुभयो ।
यस्तै, काठमाडौंका लागि नरेश बुढाऐरले २४ तथा कप्तान ज्ञानेन्द्र मल्लले १० रनको योगदान गर्नुभयो ।
धनगढीका लागि समसाद आलमले २ र सुनील धमलाले १ विकेट लिनुभयो ।
प्रतियोगितामा ६ टिम सहभागी छन् । चैत ३० गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
तेस्रो हुने टिमलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।