पुग्नैपर्ने कुपिण्डे दहः डुङ्गा सयरदेखि बराह पुजा सम्म (अडियो सहित)

फोटोः काठमाण्डौँ टुडे

वुद्धी पुन ।
सल्यान, ४ मंसिर (रेडियो राप्ती) । वरिपरी डाँडा, बीचैमा ताल । मनोरम दृश्य, कञ्चन पानी । कोही डुङ्गा सयर गर्दैछन् त कोही बराह बाबा मन्दिरमा पुजा र दर्शन । कोही कोही त सेल्फि र फोटो खिच्नमै व्यस्त । यो दृश्य सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा रहेको कुपिण्डे दह तालमा देख्न सकिन्छ ।
सल्यान सदरमुकाम खलंगाबाट करिब २० किलोमिटरको दुरीमा पर्छ कुपिण्डे ताल । खलङ्गा—बालुवासंग्रही सडकको सुधारसँगै अहिले यहाँ आउने पर्यटकहरुको संख्या दिनानुदिन बढ्न थालेको छ । बर्षमा ३ पटक रंग फेर्ने कुपिण्डे तालमा पुग्दा स्वर्गिय आनन्द प्राप्त भएको दाङबाट घुम्न आउनु भएका पर्यटक अभिषेक वली बताउनु हुन्छ ।
सरकारले हालै सार्वजनिक गरेको १ सय नयाँ पर्यटकिय गन्तव्यको सूचीमा कुपिण्डे ताल पनि परेको छ । उत्कृष्ट बनभोज स्थलका रुपमा पनि विकास हुन थालेको कुपिण्डे ताल र यहाँ रहेको बराह बाबाको मन्दिर आन्तरिक पर्यटकका लागि मुख्य आकर्षण हो । कुपिण्डे ताल घुम्न दैनिक १ हजार देखी १ हजार पाचँ सय सम्म पर्यटक पुग्ने बताउनुहुन्छ तालमा डुंगा चलाउदै आउनु भएका तिलक गोसाई ।
कुपिण्डे ताल २४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल अवलोकनका लागी सल्यान सहित सुर्खेत, बाँके, जाजरकोट, दाङ, रुकुम, रोल्पा, बाँके, बर्दियाबाट समेत आन्तरिक पर्यटक पुग्ने गरेका छन् । त्यहाँ रहेको बराह बाबाको मन्दिरमा वराहदेवको पूजा गरेमा मनोकांक्षा पुरा हुने बताउनुहुन्छ मन्दिरका पुजारी लालबहादुर गोसाई ।
कुपिण्डे तालमा वार्षिक २५ हजार भन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका कुपिण्डे ताल संरक्षण तथा पर्यटन विकास केन्द्रका सचिव तिलकराम यरीले बताउनुभयो ।
उहाँले कुपिण्डे तालको संरक्षण र प्रचारप्रसारको लागी आफूहरुले योजना बनाइरहेको बताउनुभएको छ ।
त्यहाँ मंसिर शुक्ल पूर्णिमा, माघे संक्रान्ति र वैशाख पूर्णिमाका दिन विशेष मेला पनि लाग्दछ । तर कुपिण्डे तालमा आउने पर्यटकहरुको संख्या बढे पनि खानपान र बासको व्यवस्था नहुदाँ पर्यटकले समस्या भोग्दै आएका छन् ।
त्यसैले खानपान, बास र सडक सञ्जालको स्तरबृद्धि गर्न सके कुपिण्डे ताल पर्यटकहरुको उत्कृष्ट गन्तव्य बन्नेछ ।

सुन्नुहोस् अडियो रिपोर्टः