सुर्खेत, ६ मंसिर (जागरण) । जातिय विभेद तथा छुवाछुत घटाउन खालका योजना छनौट गर्ने सुर्खेतको बराहताल गाउँपालिका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र दलित महिला सदस्यहरुसहितको सहभागितामा बिहीबार (आज) भएको संवाद कार्यक्रममा प्रतिबद्धता जनाएका हुन् ।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले आफ्नो कार्यकालमा बराहताल गाउँपालिकाबाट जातिय विभेत तथा छुवाछुत अन्त्य गर्ने उद्देश्य रहेकाले सोही अनुसार योजनाहरु छनौट गरिने बताउनुभयो ।
गाउँपालिकामा जातिय छुवाछुत र महिनावरी हुँदा महिलालाई गरिने छुवाछुत बिक्राल रहेको भन्दै अध्यक्ष वस्नेतले त्यसको अन्त्यका लागि ठोस योजना गरेरै अगाडी बढ्ने बताउनुभयो ।
यस्तै उपाध्यक्ष शोभाकुमारी शर्माले गाउँपालिकाले हरेका योजनामा जातिय विभेद तथा छुवाछुत घटाउने, लैंगीकमैत्री एवं समावेशीतामा ध्यान दिएको भन्दै आगामी दिनमा अझै प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले जातिय विभेद र छुवाछुत मुक्त गर्नका लागि वस्ती स्तरबाट योजना ल्याउन पनि वडा अध्यक्ष र दलित महिला सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी दलित महिला सदस्यहरु र अन्य सरोकारवालाहरुले गाउँपालिकाले जातिय विभेद र छुवाछुत अन्त्य गर्नका लागि उचित नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै सरोकारवालाहरुले शिक्षा, रोजगारी, आयआर्जनमूलक र चेतनामूलक कार्यक्रम ल्याई जातिय छुवाछुत जस्ता कुरिती अन्त्य गर्नुपर्नेमा जोड दिए । वडा नं. ७ की सदस्य देवि बि.क.ले दलित विद्यार्थीहरुलाई छात्रबृति, विद्यालय पोशाक, दिवा खाजा, अभिभावकका आयआर्जनका लागि योजना ल्याउनुपर्नेमा सुझाव दिनुभयो ।
वडा सदस्य कृष्णा नेपालीले स्थानीय तहमा दलित महिलाहरुको सहभागिता भएपनि आवश्यक जातिय छुवाछुत अन्त्यका लागि खासै पहल हुननसकेको तितो यर्थाथलाई केलाउँदै त्यसका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।
साझा आवाज कार्यक्रम अन्तर्गत गाउँपालिकासंगको सहकार्यमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले स्थानीय नेतृत्व र स्थानीय योजना निर्माण संयन्त्रसंगको संवाद कार्यक्रममाको आयोजना गरेको हो ।
कार्यक्रममा सचिव भीम शाही परियारले स्थानीय सरकार आफैमा अधिकार सम्पन्न भएको हुँदा गाउँपालिकाले दृढ इच्छाशक्तिका साथ काम गरेमा जातिय विभेद तथा छुवाछुत अन्त्य गर्नसक्ने दाबि गर्नुभयो ।
उहाँले यससम्बन्धी आवश्यक नीति बनाई गाउँपालिकाबाट पहिलो कार्यकालमै जातिय विभेद तथा छुवाछुत अन्त्य गर्न सुझाव समेत दिनुभयो ।
साझा आवाजका जिल्ला परियोजना संयोजक इन्द्र रसाइलीले सहजीकरण गरेको कार्यक्रम संस्थाका अध्यक्ष रुद्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।