देउडाः मायाँ प्रेमसँगै सामाजिक विषयवस्तु केन्द्रित (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, १३ मंसिर (जागरण) । हरेक महिनाको १ र १५ गते सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा पैताला मिलाएर देउडा गीत गाइन्छ । अनि खेलिन्छ । पैताला मिलाएर पुराना देउडा भाका गाउँदै नाच्ने र गोलो घेरा बनाएर खेल खेल्नेको जमघट पनि हुन्छ । जमघटमा धेरै जसो बुढाबुढीको सहभागिता रहन्छ । नयाँ पुस्ताले आफ्नो संस्कृति भुल्दैै गएका बेलामा बुढापाका नै देउडा संरक्षणमा जुटेका हुन । साविकको मध्य र सुदुरपश्चिमको देउडा संस्कृतिलाई जोगाईराख्न पनि उनीहरु खुलामञ्च आएर धीत मरुञ्जेल देउडा खेल्ने गर्छन् ।


कर्णाली र सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट बसाई सरेर सुर्खेत आउनेको संख्या ठूलो छ । तर आफ्नै गाउँठाउँको जस्तो रमाइलो भने छैन । संस्कृति पनि जोगिने र भलाकुसारी पनि गर्न पाइने भएपछि उनीहरु झण्डै ६ वर्षदेखि भेला भएर देउडा गीत गाउन थालेका हुन । देउडा गीतमा उनीहरु गाउँघरको माया, प्रेम, सुख, दुःखका घटनादेखि पुराना चालचलनसम्मका भाका हाल्छन । गीतमै सवाल जवाफ गर्ने क्रममा उनीहरु माया प्रेम र देशको समसामयिक अवस्थ, देशको विकासकाबारे पनि मन बुझ्ने टुक्का थप्छन । यसरी महिनामा दुई दिन गाउँघरको मौलिक देउडा गीतका भाका सुन्न र हेर्नेको खुलामञ्चमा भिड समेत लाग्ने गरेको छ ।
अहिलेका नयाँ पुस्ताको ध्यान आधुनिक र पश्चिमा गीत संगीततर्फ मोडिएको छ । मध्य र सुदुरपश्चिमको चिनारी मानिएको मौलिक देउडा गीतलाई नयाँ पुस्ताले बेवास्ता गर्दा यसको संरक्षणमा चूनौति थपिएको छ । यस्तो बेलामा देउडाको मौलिक भाका बुझेका पाको पुस्ता नै देउडा गीत संरक्षणमा जुटेका छन् । पुख्र्यौली गाउँठाउँमा मौलिक भाका हालेर गाइने देउडा गीतको महत्व शहर बजारमा पनि जिवितै राख्न देउडा खेल्न शुरु गरेको भन्नुहुन्छ, दैलेखबाट बसाई सरेर सुर्खेत आउनु भएका थापा ।
कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, जुम्लादेखि सुदुरपश्चिमको अछामसम्मका नागरिकहरु देउडा खेलमा सरिक हुने गरेका छन् । लामो समयपछि एक अर्काबीच भलाकुसारी हुने, गाउँघरको पुरानो चिनजान र भेटघाटको माध्यमका रुपमा समेत सुर्खेत खुलामञ्चको देउडा खेल परिचित बनेको छ । मौलिक तथा सांस्कृतिक पहिचान बोकेको देउडा भाका संरक्षणका लागि आफुहरु समिति नै बनाएर लागेको बताउनहुन्छ भेरी कर्णाली लोक संस्कृतिक जागरण मञ्चका अध्यक्ष बलिराम देवकोटा ।
शहर बजारमा नयाँ पुस्तालाई मौलिक देउडा भाका देख्न र सुन्न अहिले मेला महोत्सव नै कुर्नुपर्छ । तर आफुले बर्षौ देखेको, भोगेको र अंगालेको सांस्कृतिक मौलिक देउडा भाका जोगाउन पुरानो पुस्ता लागेका छन । यसले नयाँ पुस्तालाई संस्कृति जोगाउन पनि प्रत्यक्ष सहयोग गरिरहेको छ । गाउँघरका सांस्कृतिक मुल्य मान्यता बोक्ने देउडा भाका जोगाउन शहरमा समेत लागि परेका व्यक्ति तथा समुहलाई निरन्तर प्रोत्साहनको आवश्यकता छ ।
अडियो सुन्नुहोस्ः