सुर्खेत, १५ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले सहकारीलाई व्यवस्थित गर्नका लागि प्रदेशस्तरको सहकारी विधेयक ल्याउने भएको छ ।
सहकारीको मूल्य मान्यताविपरित चलेका सहकारीलाई नियमन गर्न र सही हिसावले चलिरहेका सहकारीलाई प्रोत्साहित हुने गरी विधेयक ल्याउन लागिएको हो । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेश सभाको अधिवेशन चल्नासाथ विधेयक ल्याउने बताउनुभयो ।
ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर १२ सुर्खेतको २१ वार्षिक साधारणसभाको अवसरमा मन्त्री केसीले यस्तो बताउनुभएको हो ।
प्र्रदेश सरकारको प्रवक्तासमेत रहनुभएका उहाँले उहाँले सही तरिकाले चलेका सहकारी संस्थाहरुको विकास र प्रवद्र्धन गर्नका लागि आफूहरु सधै लागिपर्ने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष ओमप्रकाश सुवेदीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका सचिव धनबहादुर ढेङ्गामगरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने कोषाध्यक्ष टिकाराम खरालले २१ करोड ५४ लाख ५२ हजार एक सय ८४ रुपैयाँ वार्षिक कारोबार रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
साधारणसभाको अवसरमा ६ जनालाई ज्येष्ट नागरिकलाई सम्मान गर्नुका साथै शेयर सदस्यका सन्तानमध्ये एसइइ र कक्षा १२ उतिर्ण पाँच जनालाई ग्रामीण जागरण शैक्षिक पुरस्कार दिइएको छ ।
यस्तै उमेरहदका कारण अवकाश प्राप्त भएका संस्थाका व्यवस्थापक चन्द्रलाल आचार्यलाई सम्मानसमेत गरिएको छ ।