सुर्खेतको एकमात्र सामुदायिक क्याम्पस अमरदीपको छैठौँ वार्षिकोत्सव

सुर्खेत, १९ मंसिर (जागरण) । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको सुर्खेतको एक मात्र सामुदायिक क्याम्पस अमरदीप क्याम्पस वीरेन्द्रनगर १२ को छैठौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नवराज रावतले अवको शिक्षा प्राविधिक र रोजगारमूलक हुनुपर्ने बताउनुभयो ।
रावतले अमरदीप क्याम्पस सामुदायिक क्याम्पस भएकाले यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै जिल्ला समन्वय समितिका सदस्य एवंम् क्याम्पस व्यवस्थापन समिति सदस्य वीरसिं घर्तीले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
वार्षिकउत्सवमा वीरेन्द्रनगर वडा नं. १२ का अध्यक्ष लोकप्रसाद चालिसेले सामुदायिक क्याम्पसको विकास र प्रगतिका लागि समुदायका मानिसहरु प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रुमख देवि बस्याल (तिवारी) ले क्याम्पसको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरु प्रस्तुत गर्नुभएको छ ।
क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गर्ने, क्याम्पसका लागि जग्गा व्यवस्था गर्ने, पुस्तकालय भवनको व्यवस्था गर्ने, विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था गर्न सरोकारवालासंग समन्वय गरी कोष स्थापनागर्ने लगायतका योजना रहेको क्याम्पस प्रमुख बस्यालले कार्यक्रममा पेश गर्नुभएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वक्तृत्वकला, हाँजिरी जवाफ, ब्याटमिण्टन र भलिबल प्रतियोगितामा विजयी हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले विभन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवकै अवसरमा राष्ट्रिय वाणिज्य बैंकमा नाम निकाल्न सफलपूर्व विद्यार्थी प्रभा अधिकारीलाई सम्मान समेत गरिएको छ । विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको बार्षिकोत्सव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको हो ।
अध्यक्ष आचार्यले सामुदायिक क्याम्पस भएकाले नीजि क्याम्पसहरु भन्दा सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको बताउँदै यसबाट सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले लाभ लिन सक्ने बताउनुभयो । क्याम्पसको विकासका लागि सहयोग गर्न पनि उहाँले सरोकारवालापक्षहरुलाई अनुरोध गर्नुभएको छ ।