पोषणबारे छलफल गर्न थाले आमा समूहहरु

सुर्खेत, २० मंसिर (जागरण) । कर्णाली प्रदेशका गाउँगाउँमा क्रियाशिल आमा समूहहरुले पछिल्लो समय बालबालिका तथा गर्भवति महिलाको पोषणको विषयमा छलफल गर्न थालेका छन् ।
केहि समय पहिला सम्म रकम वचत र ऋण लगानीमा सिमित हुन पुगेका समूहहरुले पनि बालबालिकाको पोषणका विषयमा छलफल गर्न थालेका हुन् ।
सुर्खेतमामात्रै पनि ९ सय ८७ वटा त्यस्ता समूहहरुले एक हजार दिनभित्रका आमा र बालबालिकाको पोषणका विषयमा प्रत्येक वैठकमा छलफल गर्ने गरेका छन् ।
त्यतिमात्रै होइन उनिहरु गर्भवति तथा सुत्केरी महिलालाई भेट्न जाँदा आफ्नै बारीमा उत्पादन भएका पोषणयुक्त खानेकुरा उपहार लिएर पुग्ने गरेका छन् ।
आमा समूह तथा सुआहारा कार्यक्रमको दवावपछि स्थानिय सरकारहरुले पनि एक हजार दिनभित्रका आमा र बालबालिकाको पोषणका लागि योजना बनाउने गरेका छन् ।
सुआहारा सुर्खेतका संयोजक राजेन्द्र अधिकारीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडानम्वर २ ले गर्भवति महिला रहेका घरमा झण्डा राख्ने र अण्डा वितरण गर्ने गरेको छ भने वडानम्वर ७ ले सर्वोत्तम पिठो वितरण गर्ने गरेको छ ।
तथ्याङ्क अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम गरी कर्णाली प्रदेशका पाँच जिल्लामा बालबालिका कुपोषित हुने दर ५४ दशमलव ४ प्रतिसत छ ।
आफूहरुले घरमै उत्पादन गर्न सकिने पौष्टिक खानामा जोड दिइरहेको सुआहाराका सुशासन विज्ञ विश्वरमण न्यौपानेले बताउनुभयो ।
यसैबीच, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका १० वटै जिल्लामा पोषण सँग सम्वन्धित कार्यक्रम गर्न जरुरी रहेकाले सुआहारा लगायतका परियोजनासँग छलफल गरिने बताउनुभएको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरिरहेको सुआहारा कार्यक्रमले वीरेन्द्रनगरमा गरेको छलफलमा मन्त्री रावलले यस्तो बताउनुभएको हो । साविकको कर्णाली अञ्चलका विकट वस्तीलाई पनि केन्द्रित गरी कार्यक्रम चल्नुपर्ने उहाँको भनाई छ ।

फोटोः सुआहारा