सुर्खेतका चार पत्रकार सम्मनित

सुर्खेत २०, मसिंर (जागरण)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाज गलत दिशामा गइरहेको भन्दै यसलाई सही बाटोमा ल्याउन सबै सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले समाज गलत बाटोमा हिडेका कारण भोलिका दिनमा देश दुर्घटनामा पर्न सक्न समेत बताउनुभयो । पत्रकार महासंघ सुर्खेत शाखाको २३ औं साधारणसभालाई सम्बोधन गर्दे मुख्यमन्त्री शाहीले समाजलाई सकारात्मक बाटोमा ल्याउने अहिलेको आवश्यकता औल्याउँनुभयो ।

उहाँले युवाहरुलाई सकारात्मक बाटोमा लैजानका लागि स्थानीय तहमा अभियानकै रुपमा अघि बढाउने बताउनुभयो । आर्थिक समृद्धि, सुशासन कसरी काय गर्न सकिन्छ भनेर विशेष योजना आवश्यक रहेको भन्दै यस अभियानमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
सरकार राज्यको अभिन्न अंग भएको भन्दै सहमति र सहकार्य गरेर समाजलाई रुपान्तरण गर्न सकिने भन्दै पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै पत्रकार महासघ सुर्खेतले बार्षिक साधारण सभाको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । वर्ष पत्रकारिता पुरस्कार नागरिक दैनिकका नगेन्द्र उपाध्याय, खानेपानी तथा सरसफाई पुरस्कार कर्मसञ्चार डटकमका ईश्वर अधिकारी र खबर इरा डटकमका विमला खड्का र प्रदेश एफएमका धर्मराज जिसीलाई शान्ति तथा विकास पुरस्कारबाट पुरस्कृत गरिएको होे ।