गलैंचाबाट आत्मनिर्भरतातर्फ महिला (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, २१ मंसिर (जागरण) । सुर्खेत वीरेन्द्रनगरका महिलाहरु गलैंचा विक्रीबाट आत्मनिर्भर बन्न थालेका छन् । बिहान घरको काम सकेर दिउसोको खाली समयमा गलैंचा बुन्ने काममा हात हालेपछि उनीहरुको समयको सदुपयोग मात्रै नभई आत्मनिर्भरतातिर लम्कन थालेका छन् । सानो तिनो रकमका लागि श्रीमानकै अगाडि हात फैलाउने महिलाहरु आफै काम गर्न सुरु गरेपछि आफ्ना समस्या आफै समाधान गर्न थालेका छन् ।
विगत २ बर्षदेखी गलैचा उद्योगमा काम गर्दै आउनुभएकी वीरेन्द्रनगर ३ की रत्ना देवी गाहामगरलाई उद्योगमा काम गर्न थालेदेखी आम्दानी हुने बाटो बनेको छ । फुर्षदको समयमा उद्योगमा बिताउनाले उहाँको दैनिकीमा नै परिवर्तन आएको छ । घर खर्चदेखी लिएर आफुलाई चाहिने अन्य खर्चको जोहो गर्न उहाँलाई सहज भएको छ ।
गलैचा बुन्ने उद्योगमा उहाँ जस्तै धेरै महिलाहरु छन् । विहान घरको काम सकेर उनीहरु उद्योगमा काम गर्न पुग्छन् । दिनभर उद्योगमा र साझँ पुनः घरको काम पनि भ्याउछन् । उनिहरु गलैचा बुनाइबाट मासिक ६ देखी १२ हजारसम्म कमाउदै आएको बताउनुहुन्छ विगत १ बर्षदेखी उद्योगमा काम गर्दै आउनुभएकी सरिता थापा क्षेत्री ।
गलैचाले राम्रो बजार पाएपनि माग अनुसारको उत्पादन गर्न भने नसकिएको सञ्चालक ऐनबहादुर शाही बताउनुहुन्छ । बजारको मागलाई हेरेर आगामी दिनमा उद्योग व्यबस्थित बनाउँदै उत्पादन बृद्धिमा जोड दिने संचालक शाहीले बताउनुभयो ।
सुरुवातीमा पाँच लाख रकमबाट संचालन भएको उद्योगमा अहिले मासिक करिब एकलाख सम्म आम्दानी हुने गरेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीय ४० जना महिलाले रोजगारी पाएका छन् ।
प्रविधि, जनशक्ति र आवश्यक कच्चा पदार्थको अभाव भएको कर्णालीमा उद्योग संचालन गर्न खासै सहज छैन ।
तर घरमै रोजगारी सिर्जना गर्ने साना लगानीका उद्योगमा सरकारी निकायको विशेष प्राथमिकता हुने संचालक शाहीको भनाई छ ।
दैनिक बेरोजगारी समस्या बढ्दै गरेको अवस्थामा यस्ता साना खालका उद्योगहरुले परिवारको आवश्यकता पूर्तिका लागि सहयात्री बन्ने गरेका छन् ।

सुन्नुहोस् अडियो रिपोर्टः