सुर्खेत, २२ मंसिर (जागरण) ।
विगतको तुलनामा कर्णाली प्रदेशमा मानवअधिकारको अवस्था सुधारउन्मुख हुँदै आएको छ । मानवअधिकारको क्षेत्रमा क्रियाशिल अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो वर्षभन्दा यसवर्ष सुधार देखिएको हो ।
आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा इन्सेकले मानिसहरुमा हिंसा विरुद्ध बोल्ने र प्रतिवाद गर्ने चेतना आएसँग मानवअधिकार उल्लंघनमा पनि कमी आएको बताएको छ ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले यसवर्ष तीनसय ८७ वटा मानवअधिकार उल्लंघनका घटनाहरु भएको बताउनुभयो ।
गतवर्ष ५ सय १६ जना पीडित भएका थिए भने गतवर्षको तुलनामा यसवर्ष ४ सय ४७ जना पीडित भएका छन् ।
यसअवधिमा राज्यपक्षबाट १० वटा मानवअधिकार उल्लंघनका घटनामा ३४ जना पुरुष र दुईजना महिला पीडित रहेको इन्सेकले उल्लेख गरेको छ ।
तर विगतको तुलनामा बालबालिकार विरुद्धका घटना भने बढेको पाइएको छ । अघिल्लो वर्ष २८ जना बालबालिका पीडित भएकोमा यसवर्ष भने ६१ घटनामा ५५ जना बालिका र ३० बालक पीडित भएका छन् ।
इन्सेकका अनुसार दुईसय ३४ जना महिला पीडित भएका छन् । संयोजक सुवेदीले क्रमिक रुपमा सुधार हुँदै आएपछि अँझैपनि कानुनी दायरामा आउने घटनाहरु भने गाउँमै मिलापत्र हुने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यसचिव रामप्रसाद थपलियाले मानवअधिकार उल्लंघनका घटनालाई गाउँमै मिलाउने प्रवृतिलाई निरुत्साहित पार्नुपर्ने बताउनुभयो ।