सुर्खेत, २८ मंसिर (जागरण) । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशलाई सुरक्षित गराउनका लागि विभिन्न योजनाहरु अघि सारेका छ । प्रदेश प्रहरी कार्यालयले सबै भन्दा पहिला प्रदेशका राजधानी वीरेन्द्रनगरलाई सुरक्षित बनाउनका लागि सुरक्षित सुर्खेत अवधारणा ल्याएको छ ।
कर्णाली प्रदेशका जिल्ला मध्य सबै भन्दा बढी सुर्खेतमा अपराध बढी भइरहेको भन्दै प्रविधिमत्री प्रहरी मार्फत राजधानी वीरेन्द्रनगरलाई सुरक्षित गराउनका लागि विभिन्न नाँकाहरुमा प्रविधिमैत्री स्मार्ट प्रहरी पोष्ट स्थापना गर्ने प्रहरी प्रमुख महेशविक्रम शाहले बताउनुभयो । उहाँले बबई, छिन्चु, वीरेन्द्रनगरको बाङ्गेसिमल, धुलियाविट र सुब्बाकुनामा पोष्टको स्थापना गरिने बताउनुभयो ।
उहाँले सु्र्खेत उपत्यका अन्य महत्वपूर्ण ठाउँहरुमा सिसिटिभि क्यामेरा जडान गर्ने, सिआरभी मार्फत आपत्त परेका बेलामा सेवा दिने, वैज्ञानिक, ब्यवस्थित र छिटो छरितो घटनास्थल अनुसन्धानका लागि छुट्टै घटनास्थल अनुसन्धान गाडीको व्यवस्था गर्ने बताउनुभयो । सुर्खेतमा सूरुमा नमुनाका रुपमा कार्यक्रम गरेपनि विस्तारै कर्णाली प्रदेशका सबै जिल्लामा कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।
कर्णालीमा भएका अपराधहरुको प्रमुख कारण मादक पदार्थ भएकाले मादक पदार्थको सचेतना अभियान पुस १ गतेदेखि कर्णालीमा ग्रामिण भेकसम्म सञ्चालन गर्ने पनि बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेश विकट भएकाले त्यहाँका प्रहरी प्रमुखहरुलाई निर्देशन दिन भिडियो कन्फ्रेन्स सुरु गरेको बताउनुभयो । उहाँले नागरिकहरुसंग पनि भिडियो कन्फेन्सको माध्यमबाट अन्तरक्रिया गर्ने बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालयले कर्णालीमा सवारी दर्घटना न्युनिकरणका लागि टाइम कार्ड लागु गर्ने, ट्राफिक सचेतना कार्यक्रम, चालकहरुका लागि रिफ्रेस सेन्टरको स्थापना गर्ने, लैगिंक हिंसा, घरेलु हिंसा न्युनिकरणका लागि जनचेतानमुलक अभियानहरु सञ्चालन गर्ने जनाएको छ ।