लोक गीत र भीम बहादुर कार्की (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, ५ पुस (जागरण) । ‘लाल पाक्यो बयर–लाल पाक्यो बयर, हा हा हा हाय रुन्छ नि मन एकलै भएर…’
यो गीत जनजनको मनमा र मस्तिष्कमा बस्न सफल भएको छ । यो गीतसँगैै दर्जनौँ गीत छन् जसलाई लोक गायक भीमबहादुर कार्कीले बनाउनुभयो र गाउनुभयो अनि तिनै गीतले कार्कीलाई चिनाए पनि ।
नेपाली कला साहित्यलाई आफ्नो जीवन बनाउनुभएका कार्कीको उमेरले नेटो काट्दैछ र पनि नेपाली कला साहित्य प्रति चिन्ता उति नै छ जति हिजो थियो ।
२००६ साल चैत्र २६ गते हाल वीरेन्द्रनगर वडा नम्वर १४ गढीमा जन्मिनुभएका कार्की उमेरले ६९ वर्ष पुग्नुभयो । तर जति उमेर ढल्किदै गएको भए पनि नेपाली लोक संगित प्रति त्यति नै चासो बढ्दै छ ।
स्कुले जीवन देखि नै कला साहित्य तर्फ रुचि राख्ने कार्कीले स्कुले साथी तथा विद्यालयमा गुरुको पे्ररणाका कारणले नै सांगीतिक यात्रा सुरु गर्नुभएको हो ।
उतिबेला गायन क्षेत्रमा अगाडी बढ्न त्यती सहज भने थिएन । गित गाउनलाई उतिबेला नकारात्मक रुपमा लिइन्थ्यो ।
२०२९ सालमा तत्कालिन ७५ वटा जिल्ला सहभागी हुनेगरी रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक लोक गीत सम्मेलनमा प्रथम भएपछी कार्कीलाई थप हौसला बढ्यो ।
भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा विभिन्न चुनौतीका विचमा पनि सांगितीक यात्रा सुरु गर्नुभएका कार्कीले धेरै गितमा स्वर दिइसक्नुभएको छ ।
गायन क्षेत्रमा पारिवारबाट पटक्कै साथ नपाउनु भएका कार्कीका गीतमा माया पे्रम र दुख र पिडाका भावहरु झल्किने गदर्छन् ।
उच्च शिक्षा हासिर गरेर समाजसेवा गर्ने उदेश्य राख्नुभएका कार्कीले गाउनुभएका गितमा पनिबढी भन्दा बढी वियोगान्तका शब्दहरु समेटिएका छन् ।
कार्कीलाई नेपाली लोकसांकिृती हराउछ की भन्ने चिन्ता पनि छ । पछिल्लो पुस्तामा नेपाली संस्कृतीको अनुसरण होस भन्ने उदेश्यले उहाँले अहिले पनि सभा समारोहमा गाउने गर्नुहुन्छ ।
पहिला र अहिलेको कलाकारिताको क्षेत्रमा आकाश पातलको भिन्नता उहाँ देख्नुहुन्छ । पछिल्लो समय कलाकारिता क्षेत्र पैसाको भरमा चलेको उहाँको बुझाइ छ । पैसा मात्र पनि ठुलो कुरा होइन उहाँ भन्नुहुन्छ, ‘नेपाली कलासांहित्य जर्गेना प्रति पनि सबैले ध्यान दिन आवश्यक छ ।’
नयाँ नयाँ प्रविधिको विकास सँगै कलाकारिताको क्षेत्रमा केही सहजता पनि आएको छ । पछिल्लो समय पुरानो लोक संस्कृती हराउने र नयाँ लोकगीतमा पनि भड्किला गीतले स्थान पाएको देखिन्छ । यस तर्फ सबै को ध्यान जान जरुरी छ । पुराना लोक संस्कृतिको जर्गेना र नयाँलाई पोत्साहन गर्न आवश्यक पनि छ ।
सुन्नुहोस् अडियो रिपोर्टः