कर्णाली सरकारलाई विकास बजेट खर्च गर्न मुस्किल

सुर्खेत, ७ पुस (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि छुट्याइएको विकास बजेट खर्च नहुने देखिएको छ । बजेटको अख्तियारी पाएको पाँच महिना वितिसक्दा पनि पुँजीगत बजेट खर्च शुन्य जस्तै देखिएको छ ।
२० अर्ब बढीको विकास बजेट रहेको कर्णाली प्रदेश सरकारसँग संघिय योजना र प्रादेशिक योजना कुनैमा पनि बजेट खर्च सुरु हुन सकेको छैन ।
लक्ष्य धेरै राखेपनि पहिलो चौमासिक जाँदासम्म कुनैपनि योजनाहरु कार्यान्वयन नहुँदा विकास बजेट खर्च हुन नसकेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।
आफ्नै सांगठनिक संचरना नभएको र कर्मचारी अभावकै कारण प्रदेश सरकारले विनियोजित विकास बजेटको एक प्रतिशत समेत खर्च गर्न सकेको छैन ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक अनुसार मंसिरसम्म जम्मा ५० करोड मात्र खर्च भएको छ । चालुतर्फको कर्मचारी र मन्त्री सांसदको तलबभत्ता समेत खर्चमा जोडिएको छ ।
यसैबीच, कर्णाली प्रदेशमा उद्योगधन्दा नगन्य मात्रामा हुँदा आर्थिक गतिविधि हुन नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा आर्थिक गतिविधिमा कर्णाली पछाडि देखिएको हो ।
राष्ट्र बैंकले गरेको ‘संघीय संरचनामा आर्थिक गतिविधि’सम्बन्धी अध्ययनले कर्णालीमा औद्योगिक क्षेत्रको कमी र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा भएकोसमेत देखाएको छ । अध्ययनअनुसार कर्णालीमा एक प्रतिशत मात्रै उद्योगधन्दा रहेका छन् ।