जागरणको अध्यक्षमा फेरी पौड्याल

सुर्खेत, ७ पुस (जागरण) । जागरण एफ. एम. को सञ्चालक संस्था जागरण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको अध्यक्षमा पुनः पूर्ण प्रसाद पौड्याल चयन हुनुभएको छ ।
वीरेन्द्रनगरमा आज (शनिवार) भएको संस्थाको एघारौँ वार्षिक साधारणसभाबाट आगामी चार वर्षका लागि पौड्यालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा नवराज खड्का, सचिवमा राजेश कुमार ढकाल, कोषाध्यक्षमा चन्द्रलाल आचार्य तथा अन्य सदस्यहरुमा घनश्याम कँडेल, धना जिसी, राम प्रसाद उपाध्याय, चौहानसिं राना र टीकाराम ढकाल चयन हुनुभएको छ ।
साधारणसभाले संस्थागत सदस्यमा राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था र सिमान्तकृत महिला वहुउद्देश्यीय सहकारी संस्थालाई चयन गरेको निर्वाचन समिति संयोजक पूर्णमान श्रेष्ठले बताउनुभयो । यस्तै मीनविक्रम शाहको संयोजकत्वमा गोविन्द प्रसाद शर्मा र छविलाल चालिसे सदस्य रहनेगरी लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ ।
अव नयाँ सञ्चालक समितिले संस्थाको विधान संशोधनको जिम्मेवारी समेत पाएको छ । साधारणसभाले समान उद्देश्य राखेका प्रारम्भिक सहकारी संस्थाहरुलाई समायोजन गर्न पहल गर्ने, नयाँ शेयर सदस्यता खुला गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।
साधारणसभामा प्रमुख अतिथी समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यवाहक अध्यक्ष खगेन्द्र प्रसाद सापकोटाले सामुदायिक रेडियोहरुसँगको साझेदारीमा प्रदेशस्तरको सञ्जाल तयार गरेर जागरण एफ. एम.ले अगुवाई लिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष पौड्यालले साझेदारीका लागि कर्णाली प्रदेशका अन्य सामुदायिक रेडियोहरु प्रति आभार व्यक्त गर्दै सामुदायिक विकासका लागि सामुदायिक रेडियोहरुबीचको सहकार्य एउटा नमूना कार्य रहेको बताउनुभयो ।
प्रत्येक वर्ष साधारणसभाको अवसरमा गरिने कार्यअन्तर्गत यसवर्ष विज्ञापन तथा कार्यक्रम साझेदारको रुपमा छत्र वडुवाललाई सम्मान गरिएको छ । शिक्षक समेत रहनुभएका सम्मानित बड्वालले शिक्षा लगायत सामाजिक विषयवस्तुमा जागरणले धेरै राम्रा काम गरेकाले विज्ञापन र कार्यक्रम साझेदारीमा आफ्नो पहिलो रोजाई जागरण नै परेको बताउनुभयो ।

साधारणसभामा कर्णाली प्रदेशका शिक्षा निर्देशक भक्तबहादुर ढकाल, सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कलमणी देवकोटा, ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश सुवेदी, राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टंक प्रकाश लामिछाने, सिमान्तकृत महिला वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मधुरानी ढकाल, स्वदेश वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिभक्त कोइराला लगायतले पनि आफ्नो भनाई राखेका थिए ।