प्राविधिक शिक्षाका लागि विज्ञहरुको सुझाव लिन्छौः मुख्यमन्त्री शाही

सुर्खेत, १९ चैत (जागरण)। कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षाका लागि विज्ञहरुको सुझाव लिने भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राविधिक जनशक्ति उत्पादनमा सरकार गम्भीर रहेको भन्दै यसबारे आवश्यक निती बनाईने बताउनुभयो ।
आज राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेशको टोलीले दिएको सुझाव तथा ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
मूख्यमन्त्री शाहीले मुलुकका लागि प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
कर्णाली प्रदेशको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षामा विज्ञहरुको सुझाव लिएर नीति तयार गर्ने भन्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘काठको काम गर्ने जनशक्ति चाहिएको ठाउँमा फलाम काट्ने जनशक्ति उत्पादन गर्नुको कुनै अर्थ छैन । अहिलेको पढाई प्रमाणपत्र हातमा लिएर मागी खाने मात्रै भयो, गरिखाने हुन सकेन ।’
सैद्धान्तिक शिक्षाले समाज रुपान्तरण नहुने भएकोले दर्शनबाट आदर्श जन्माउने शिक्षा भन्दा पनि विश्वका जुनसुकै ठाउँमा गएपनिआफ्नो वुद्धिलाई बेचर विश्व बजारमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ प्रदेश सरकार लाग्ने उहाँले बताउनुभयो ।
यो प्रदेशमा कुन क्षेत्रले कस्तो प्रकारको जनशक्ति उत्पादन गर्न सक्दछ भन्ने कुरालाई पहिचानगरी निजी क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले ध्यान दिने उहाँको भनाइ छ ।
यता राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेशका अध्यक्ष कमलबहादुर सिंहले आधुनिक वैज्ञानिक शिक्षा नीति बनाउन कर्णाली प्रदेश सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले कानून निर्माण हुन पूर्व नै ११ बुँदे ध्यानाकर्षण र ४७ बुँदे सुझाव पत्र बुझाएको बताउनुभयो ।