प्रभा रावत सुर्खेत, २० पुस (जागरण)
पेटीको बास, अनि सडकको गास, बाह्य दृश्यसँग अपरिचित, तर वीरेन्द्रनगरका हरेक सडक पेटीसँग परिचित, दृष्टिविहीन व्यक्ति मैतुराम नेपाली ।
सानो उमेरमा दुईवटै आँखाको ज्योती गुमाउनु भएका मैतुराम आफन्तकै छत्रछायाँमा हुर्किनु भयो । ६ वर्ष कै उमेरदेखि सडक पेटीसँग मित्रता गाँस्नुभएका मैतुरामका दिनचर्या त्यती सहज देखिँदैन । दृष्टीविहिन भएकै कारण समाजबाट अपहेलिन हुनुपरेको उहाँ गुनासो गर्नुहुन्छ । अझै पनि दृष्टीविहिन नागरिकलाई हेर्ने दृष्टीकोणमा परिवर्तन हुन सकेको छैन ।
वीरेन्द्रनगरमै जन्मिनुभएका मैतुराम दृष्टिविहिन भएपछी आमाको मायाँ सम्म पाउनुभएन । आमाकै मायाँबाट वञ्चित भएपछी उहाँले आमा कै सम्झनामा गीत पनि गाउन थाल्नुभयो ।
मैतुरामको दिन गुजार्ने माध्यम नै सडक बनेको छ । सडकको पेटीमा बसेर वरिपरिको वातावरणलाई संगीतमय बनाउदै जम्मा हुने रकम नै मैतुरामको जीवन जिउने साहारा बनेको छ । संसार हेर्ने दृष्टी नभए पनि उहाँलाई पढ्ने ठुलो रहर थियो तर यो अवसर मिलेन । सरकारले दिने मासिक भत्ता पनि नियमित नपाइएको मैतुरामको गुनासो छ ।
मैतुरामका एक छोरा र एक छोरी छन् । ५३ वर्षिय मैतुराम कहिलेकाँही निराश पनि हुनुहुन्छ तर फेरी गीत संगीतले नै उहाँलाई भुलाउँछ सवै दुःख अनि पीर । अथाह कला र क्षमताको हिसावले अन्य व्यक्तिभन्दा कम हुनुहुन्न मैतुराम । मैतुराममात्रै होइन मैतुराम जस्तै क्षमतावान व्यक्तिहरुलाई हामी नागरिकस्तरबाट सम्मान, प्रोत्साहन र सहयोग हुन जरुरी छ ।
(सुन्नुहोस अडियो)