धनगढी, १९ चैत (जागरण)। धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) कोे सोमबार (आज) भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८६ रन बनाएको थियो । प्रतियोगितामा यो अहिलेसम्मकै सर्वा्धिक योगफलसमेत हो ।
काठमाडौंका लागि भारतीय खेलाडी सन्नी पटेलले १९ बलमा ४८ रनको योगदान गर्नुभयो । उहाँ खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित हुनुभयो ।
त्यस्तै, सुबोध भारीले ४२, अमित श्रेष्ठले ३० रन बनाउनुभयो भने नरेश बुढाऐरले २० र कप्तान ज्ञानेन्द्र मल्ले २० रन जोड्नुभयो ।
बलिङतर्फ रुपन्देहीका लागि अमरसिंह रौटेला, सुफयान मेहमुद र बिक्रम भुसालले समान एकरएक विकेट लिनुभयो ।
जवाफमा रुपन्देहीले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमात्रै बनाउन सक्यो । रुपन्देहीका लागि प्रदीप ऐरीले अर्धशतक बनाएपनि आफ्नो टिमलाई विजयी गराउन सकेनन् ।
प्रदीपले ५७, सागर पुनले १८ र दीपक प्रसादले १० रनबाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
काठमाडौंका लागि रसिद खानले ४, ललित राजवंशीले ३ र साहव आलमले २ विकेट झार्नुभयो ।
यस्तै, आजै भएको पहिलो खेलमा टिम चौराहा धनगढी विजयी भएको छ ।
सोमपाल कामीको कप्तानी पारीका कारण धनगढी टिम चौराहाले प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो खेलमा काठमाडौ गोल्डेनसँग ७ विकेटले पराजित भएको चौराहाले आज सिवाईसी अत्तरियालाई ३ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको सिवाईसी अत्तरियाले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो । उसका लागि प्रेम तामाङ र बिपिन चन्दले समान २८–२८ रन बनाउनुभयो भने कुशल भुर्तेलले २५ तथा दिपेन्द्र ऐरीले १९ रन जोड्नुभयो ।
यस्तै, कृष्ण कार्कीले १४ रन बनाउँदा कप्तान सुवास खकुरेल र गौरभ चितकाराले १३–१३ रनको योगदान गर्नुभयो ।
सिवाईसी अत्तरियाका कुनै पनि खेलाडीबीच दरिलो साझेदारी नभए पनि उसले राम्रो लक्ष्य दिन सफल भयो । बलिङतर्फ ललितराज भण्डारीले ३ विकेट लिनुभयो ।
जवाफमा टिम चौराहा धनगढीले १९ ओभर २ बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । १९ रन हुँदा दुई विकेट गुमाइसकेको चौराहाले ४६ रन हुँदा ४ विकेट खेर फालेको थियो ।
कप्तान सोमपाल कामीले विस्फोटक ३८ रनको पारी खेल्दा चौराहाले जित निकाल्न सफल भयो । धनगढीका लागि विदेशी खेलाडी रोहन मुस्तफाले ४० रन बनाउनुभयो भने राजेश पुलामी मगरले २५ रनको योगदान गर्नुभयो ।
मुस्तफा र पुलामी मगरले पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गर्नुभएको थियो । यस्तै, अस्फाक अहमदले १० रन जोड्नुभयो । प्रतियोगितामा अत्तरियाको पहिलो हार हो ।
प्रतियोगिताअन्तर्गत् मंगलबार टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेड आमने–सामने हुनेछन् ।