रुपन्देही, १९ चैत (जागरण)। तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।
सोमबार बुटवलमा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
उपाधिसँगै थ्रीस्टारले नगद १५ लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको मनाङले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
उपाधि भिडन्तमा थ्रीस्टारलाई जित दिलाउनेक्रममा अनन्त तामाङ र विदेशी खेलाडी अजयी मार्टिन एकरएक गोल गर्नुभयो । अनन्तले खेलको ६९औं र मार्टिनले ८२औं मिनेटमा गोल गर्नुभएको थियो ।
त्यसअघि, खेलको दोस्रो मिनेटमै मनाङका बिमल रानाले एक गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा मनाङ उपविजेतामै सीमित हुन पुग्यो ।
फाइनल खेलको खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका अनन्त तामाङ घोषित हुनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने मनाङका अन्जन विष्ट घोषित भए । उहाँले ५० हजार रुपैयाँ पाउनुभयो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ को आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय र मलेसियाको हिमालयन फुटबल क्लबसहित १० टिमको सहभागिता रहेको थियो ।