सहकारी दिवसः यी हुन् यसवर्षका उत्कृष्ट सहकारीहरु 

सुर्खेत, २० चैत (जागरण) । सुर्खेतका नौ वटा सहकारी संस्थाहरु यसवर्ष उत्कृष्ट सहकारीको रुपमा घोषणा भएका छन् ।

६१ औँ सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सुर्खेतले नौ वटा सहकारी संस्थाहरुलाई जिल्लाको उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो । जिल्लाभरका ६ सय २६ सहकारीहरुमध्ये कार्यसम्पादन मूल्याङ्नको आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला सहकारी संघ सुर्खेतले जनाएको छ ।

                                                                                उत्कृष्टताको प्रमाण ग्रहण गर्दै एक सहकारी, गणेशजलका अध्यक्ष प्रेमकुमार विसी ।

विशेष समारोहमा गणेशजल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ३, ग्रामीण जागरण वचत तथा ऋण सहकारी वीरेन्द्रनगर १२, वातावरण वहुउद्देश्यीय सहकारी वीरेन्द्रनगर ८, हरियोहिरा कृषि तथा जडिवुटी विकास सहकारी वीरेन्द्रनगर २, त्रिपुरेश्वर वचत तथा ऋण सहकारी वीरेन्द्रनगर १, हिमाली वचत तथा ऋण सहकारी वीरेन्द्रनगर ९, गंगामाला स्वावलम्वन विकास वचत तथा ऋण सहकारी भेरीगंगा १२, पवित्र जनकल्याण कृषक सहकारी गुर्भाकोट ८ र सिम्ता स्वावलम्वन सहकारी संस्था राकमलाई उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

समारोहमा जिल्ला समन्वय समिति संयोजक छविलाल सिग्देलले कतिपय सहकारीहरु अझै पनि सहकारीको खास मूल्य मान्यताबाट विमुख भएको भन्दै सच्चिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारीको नियमन गर्ने अधिकार स्थानिय तह सम्म पुगेकाले स्थानिय तहले पनि सहकारीको गतिलो व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा सहभागि भएका अन्य सहकारी अभियान्ता तथा सहकारीकर्मीहरुले दिगो विकासका लागि सहकारी नै महत्वपूर्ण पाटो रहेको उल्लेख गरेका छन् । उत्कृष्टताको प्रमाण ग्रहण गरिसकेपछि उत्कृष्ट सहकारीहरुमध्येको एक सहकारी गणेशजलका अध्यक्ष विसीले यो सम्मानले आफूहरुलाई काम गर्न अझ उर्जा प्रदान गरेको बताउनुभयो ।