कर्णाली प्रदेश संसदद्वारा आर्थिक विधेयक पारित, बजेट खर्च गर्ने बाटो खुल्यो

सुर्खेत, २२ चैत (जागरण) । कर्णाली प्रदेशमा संसदले आर्थिक कार्यविधी सम्बन्धी विधेयक पारित गरेको छ । बुधबार सम्पन्न संसद वैठकले सर्वसम्मत उक्त विधेयक पारित गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यो विधेयक चैत १६ गतेको संसद वैठकमा पेश गर्नुभएको थियो । उक्त विधेयकमाथि हिजो र आज संसदमा छलफल भएको हो । दुई दिन सम्मको छलफलपछि उक्त विधेयक आज पारित भएको हो ।
यो विधेयक पारित भएसँगै अब कर्णालीमा प्रदेश सरकारलाई बजेट ल्याउने र खर्च गर्ने बाटो खुलेको छ । कानुन अभावमा सरकारले हालसम्म वैंकमा खाता समेत खोल्न सकेको थिएन ।

आर्थिक कार्यविधि विधेयक पारित भएसंगै अब कर्णाली प्रदेश सरकारलाई बजेट ल्याउन बाटो खुलेको आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताउनुभयो । उहाँले आर्थिक कार्यविधि पारित भएर सरकारलाई आर्थिक क्रियाकलापमा सहज हुने बताउनु भयो । उहाँले कर्णाली प्रदेशको बजेट ल्याउने तयारीलाई प्रक्रियागत रुपमा तिव्र पारिने बताउनु भयो ।

यसैबिच, प्रदेश संसदको आजको वैठका सांसदहरुले सुर्खेतको पञ्चपुरी नगरपालिका ३ की गौरीकला रोकायको घटनालाई सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
वैठकको शुन्य समय र विशेष समयमा बोल्दै सांसदहरुले प्रदेशको शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताएका थिए । रोकाय पञ्चपुरी नगरपालिका ५ वावियाचौरमा डेरा गरेर एसइइको परीक्षा दिइरहेका बेला चैत १३ मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले गौरीकलाको हत्याको आरोपमा टाफिक प्रहरीसहित ३ जनालाई समेत पक्राउ गरिसकेको छ ।
सांसद पदमा खड्काले अहिलेसम्म गौरीकलाको घटनाको सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन हुनुपर्ने भन्दै संसदीय समिति गठन गर्र्नुपर्ने माग राख्नु भयो ।
यस्तै, सांसद कौशिलावती खत्रीले गौरीकलाको हत्याको सत्यतथ्य छानविन गर्न समिति गठन गर्नुपर्ने बताउनु भयो । वैठकमा सांसदहरुले मध्यपश्चिम विश्वविद्यालय नजिक मन्त्रीको गाडी र सांसद धर्मराज रेग्मीमाथि भएको आक्रमणको भत्र्सना गरेका छन् । साथै दोषीलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
सांसदले उठाएका प्रश्नका जवाफ दिँदै आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले दोषीलाई तत्काल कारवाही गरिने प्रतिवद्धता जनाउनुभयो । संसदको अर्को वैठक यही चैत २६ गते बस्नेछ ।