कर्णाली सरकारले एम्वुलेन्स किन्दै

मुना हमाल ।
सुर्खेत, १० माघ (जागरण) । कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्ने भएको छ । यसका लागि सरकारले भन्सार छुटका लागि संघिय सरकारसंग माग गरेको छ ।
हिजो बसेकोे मन्त्रीपरिषद बैठकले प्रदेशका लागि १० वटा एम्बुलेन्स खरिद गर्ने सम्बन्धमा भन्सार छुट लागि अर्थ मन्त्रालयलाई माग गर्ने निर्णय गरेको हो । प्रदेशका १० वटै जिल्लाका लागि एम्बुलेन्स खरिद गर्न सामाजिक बिकास मन्त्रालयले दुई करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
जनतालाई स्वास्थ्य संस्थासम्म सहज रुपमा पुग्नका लागि एम्बुलेन्स खरिद गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जागरणलाई जानकारी दिनुभयो । उहाँले अब संघिय सरकारले भन्सार छुटका लागि सहमति दियो भने टेण्डर आब्हान गर्ने जानकारी दिनुभयो ।
यस्तै मन्त्रीपरिषद बैैठकले अनुसन्धान ब्युरो सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान पनि गरेको छ ।
कानुन मन्त्रालयले नै प्रस्ताव गरेको प्रहरी भवन निर्माण तथा सुधार गृह निर्माण सम्वन्धमा प्रदेश प्रहरीसंग समझदारी गरी कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।
यस्तै बैठकले स्वयंसेवक परिचालन सम्वन्धि विधेयकको मस्यौदा तर्जुमाका सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको सामाजिक मन्त्री रावलले जानकारी दिनुभयो ।