सुर्खेत, २२ चैत (जागरण) ।
आगामी बैशाखबाट सुर्खेतदेखि काठमाडौंसम्म नियमित रुपमा सिधा हवाई उडान हुने भएको छ ।
बुधबार सुर्खेतमा बुद्ध एयरको ४७ सिट क्षमताको जहाजले परीक्षण उडान सफल गरेपछि सुर्खेत–काठमाडौं नियमित सिधा हवाई उडान हुने भएको हो ।
वुद्ध एयरका विमान चालक रञ्जनकुमार श्रेष्ठले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न र ४७ सिटसम्मको जहाज अवतरण गर्न कुनै समस्या नभएको बताउनुभयो ।
बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले बैशाख १ गतेदेखि सुर्खेत–काठमाण्डौँ नियमित रुपमा जहाँज संचालन गरिने बताउनु भयो । उहाँले सुर्खेतदेखि काठमाण्डौँसम्मको हवाई भाडादर बढीमा ६ हजार पाँचसयसम्म तोकिने जानकारी दिनुभयोे ।
विमानस्थल प्रमुख विनोदकुमार पन्तले पनि बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा ढुक्क भएको बताउनुभयो ।
उहाँले नियमित उडानका लागि आफुहरु सक्षम भएको भन्दै भौतिक पुर्वाधारले पनि यत्तिको उडान धान्न सक्ने बताउनुभयो ।