देशभरका सामुदायिक रेडियोकर्मीलाई स्वागत गर्न आतुर छौँः कर्णालीका मन्त्रीहरु

सुर्खेत, १३ माघ (जागरण) । कर्णाली प्रदेशका मन्त्रीहरुले देशभरका सामुदायिक रेडियोकर्मीहरुलाई स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन प्रदेशकै प्रतिष्ठाको विषय भएकाले त्यसलाई सफल पार्न आफूहरु तयार रहेको मन्त्रीहरुको भनाई छ ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को केन्द्रिय साधारणसभा तथा रेडियो सम्मेलनका लागि सरोकारवालाहरुसँगको समन्वय अन्तर्गत भेटघाटमा मन्त्रीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक विकास मन्त्री दल रावलसँग अकोरावको टिम ।

फागुन १, २ र ३ गते हुने सम्मेलनको तयारी स्वरुप अकोरावको केन्द्रिय र प्रदेशको संयुक्त टोलीले कर्णाली प्रदेशका मन्त्रीहरु, अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल र बैठक गरेको छ ।

टोलीले कर्णाली सरकारकी प्रवक्ता एवम् कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलगायतसँग छलफल गरेको छ ।

कर्णाली सरकारकी प्रवक्ता विमला केसीसँग अकोरावको टिम ।

सम्मेलनमा समाजमा अझै पनि हानिकारक संस्कार कायमै रहेकाले सामुदायिक रेडियोहरुले चेतना बृद्धिका लागि पहल लिनुपर्नेमा मन्त्रीहरुले जोड दिएका छन् ।
यस्तै कृषि र पर्यटनका हिसावले कर्णाली निकै महत्वपूर्ण प्रदेश भएकाले त्यसको प्रचार प्रसारका लागि सामुदायिक रेडियो नै उपयुक्त हुनसक्ने मन्त्रीको विश्वास छ ।
छलफलमा अकोरावका केन्द्रिय अध्यक्ष सुवास खतिवडा, कर्णाली प्रदेश अध्यक्ष रमेश गौतम, प्रदेश सचिव चक्र केसी, प्रदेश सदस्य सूर्य प्रकाश कँडेल, जागरण एफ. एम. का स्टेशन म्यानेजर दीपेन्द्र ओलीलगायतको सहभागिता थियो ।
यसैबीच, सम्मेलनका लागि सुर्खेतमा रहेका सामुदायिक रेडियोहरुबीच तयारी वैठक समेत गरिएको छ । राष्ट्रिय सम्मेलनमा देशभरका तीन सय ५० सामुदायिक रेडियोका सञ्चालकहरु सहभागि हुँदैछन् ।