काठमाण्डौँ, १६ माघ (जागरण) । आज माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।
स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डाैकाे टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु. १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।
नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचारप्रसार गरेको आरोपमा वि.सं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजीकैको रूखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत हुनुहुन्थ्यो ।