सामुदायिक विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

मुना हमाल ।
सुर्खेत, १६ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर ११ धुलियाविटमा रहेको शिव माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ ।
साढे एक वर्षे पशु विज्ञान विषयमा पठनपाठन भइरहेको त्यस विद्यालयका विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजता ल्याउन र पशुपालक कृषकलाई सुविधा दिनका लागि पशु स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको हो ।
कृषकहरुलाई पशु स्वास्थ्य सम्बन्धि निःशुल्क प्राविधिक सल्लाह, सबै पशुहरुको स्वास्थ्य परिक्षण, औषधि कृतिम गर्भधारणलगायतका सेवा दिने जनाएको छ ।
‘विद्यालयले विद्यार्थीहरुको पढाईमा पनि सहयोग पुग्ने र अभिभावकहरुलाई पनि सेवा दिने उद्देश्यले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएका हौँ’ विद्यालयका प्रध्यानाध्यापक पौडेलले भन्नुभयो, ‘हामीले यसका लागि पशु डाक्टर पनि व्यवस्था गरेका छौँ । अब कृषिहरुलाई टाढा जानुपर्ने बाध्यता हट्नेछ ।’ उहाँले अब विद्यालयले छिट्टै गाई फर्मलगायतका पशुपालन फर्महरु संचालनको तयारीमा लागेको बताउनुभयो ।
उहाँले पशुविज्ञान विषय पढिरहेका विद्यार्थीहरुलाई विद्यालयले ३ प्रतिशत ऋण दिएर पशुपालन व्यवसायमा लगाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले आगाामी वर्षमा पशु विज्ञान विषयमा तीन वर्षे कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिनुभयो ।
अहिले १८ महिने पशु विज्ञान बिषयमा ३५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । सुर्खेतसहित जुम्ला, डोल्पा, कालिकोट, हुम्ला र जाजरकोटका विद्यार्थी अध्ययनरत छन् । अभिभावकहरुले विद्यालयमा प्राविधिक संचालनका लागि १७ लाख भन्दा बढी सहयोग गरेका थिए ।