चौकुनेमा कृषि क्याम्पसका लागि छलफल

सुर्खेत, १७ माघ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकामा कृषि क्याम्पस स्थापनाको लागि सरोकारवालाहरूबीच छलफल भएको छ ।
गुटुमा क्याम्पस स्थापनाका अध्यक्ष मोहनसिंह बडुवालको अध्यक्षता र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालाको प्रमुख आतिथ्यमा अन्तर्क्रिया सम्पन्न भएको हो ।
त्यस अवसरमा उपकुलपति प्रा.डा. कोइरालाले चौकुनेमा कृषि क्याम्पस स्थापना गर्नका लागि भौतिक पूर्वाधार विकास गर्न आवश्यक पर्ने भएकाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्बन्धन दिन नसक्ने तर आफ्नो अभिन्न अंगको रूपमा विकास गर्न सक्ने बताउनुभएको छ ।
सार्वजनिक शिक्षाको गुणस्तर र विकास नगरी मुलुकले विकासको गति पक्रन नसक्ने भन्दै जनप्रतिनिधि हरूले त्यसमा लगानी र ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कर्णाली प्रदेश सभा सांसद विन्दमान बिष्टले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्न आवश्यक ठहर गरेको तर्फ संकेत गर्दै चौकुनेमा कृषि क्याम्पस संचालनमा ल्याउन त्यस क्षेत्रमा अवस्थित माध्यमिक तहमा विद्यालयहरूमा विज्ञान विषय पढाउन आवश्यक भएको र दिगो बिकासमा लागि शिक्षामा लगानी गर्न र आवश्यक समन्वय गर्न सबै जनप्रतिनिधिहरू जिम्मेवार भएर बजेट बढाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीले चौकुने ऐतिहासिक व्यापारिक सामरिक महत्त्वको ठाउँ भएको स्मरण गर्दै चौकुनेको विकासको लागि कृषि क्याम्पस स्थापनाको पहलले यस क्षेत्रको विकास र जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने र त्यसको लागि कर्णाली प्रदेश योजना आयोगले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
त्यस अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय रजिष्ट्रार यम बहादुर कार्की, पाठ्यक्रम विकास केन्द्रका निर्देशक लिलाधर तिवारी, चौकुने गाउपालिकाका अध्यक्ष धिर बहादुर शाही लगायतले आफ्नो धारणा राखेका थिए ।