प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्न काँग्रेसले पायो अर्को विषय

काठमाण्डौँ, १७ माघ (जागरण) । संघिय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि चिकित्सा शिक्षा विधेयक पारित गरेपछि स्थगन भएको बैठक आज फेरी बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
यसअघि आफ्ना नेताहरुको नाम जोडिएका अस्पताललाई संघ सरकार अन्तर्गत नराखिएको भन्दै नेपाली काँग्रेसले अवरोध गर्ने प्रयास गरेको थियो । यद्यपी, पछिल्लो मन्त्री परिषद् बैठकले काँग्रेसको माग सम्वोधन गरिसकेको छ ।
यसैबीच, कहिले केही त कहिले केही निहुँ खोजेर संसद् अवरुद्ध गर्न बानी परेको काँग्रेसले अझै पनि संसद् अवरुद्ध गर्ने बताएको छ ।

फाइल फोटो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गराउने विषयमा छलफल गर्न बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो ।
सत्तापक्षले बलजफ्ती ढंगले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
डाक्टर गोविन्द केसीको कतिपय माग विपरीत सत्तापक्षले त्यो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नुपरेको कांग्रेसको भनाई छ ।