राष्ट्रपति रनिङ सिल्डका लागि अँझै रकम अभाव

सुर्खेत, २३ चैत (जागरण) । पूर्वी सुर्खेतको रानीवासमा आगामी चैत २७ देखि शुरु हुने १० औं राष्ट्रपति रनिङ्ग शिल्डका लागि अझै रकम अभाव भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिले विहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै रकम अभावबारे जानकारी दिएको हो । समितिका कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिता सम्पन्न गर्न १ लाख अपुग भएको जानकारी दिनुभयाे। ‘सुर्खेतका ९ वटै स्थानीय तहसंग सहयोग मागियो’, कोषाध्यक्ष रावतले भन्नुभयो, ‘सवैसंग सहयोग माग्दा पनि १ लाख पुगेन ।
आयोजक जनता माध्यामिक विद्यालय रानीवासले २ लाख दियो, तर पनि आवश्यक रकम जुटाउन सकिएको छैन ।’ प्रतियोगिताका लागि १२ लाख ५० हजार रकम आवश्यक रहेको समितिले जनाएको छ । चिङ्गाड गाउँपालिकाको रानीवासमा आगामी चैत २७ देखि २९ गते सम्म प्रतियोगिता सञ्चालन हुदैछ ।
प्रतियोगिताका लागि अन्य सवै खालको तयारी पुरा भएको र केही प्राविधिक तयारी मात्र बाँकी रहेको समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताउनुभयो । ‘ राष्ट्रपति जस्तो गरिमामय र प्रतिष्ठीत पदसंग जोडिएर खेलकुद प्रतियागिता हुदैछ’ अध्यक्ष गिरीले भने, ‘रकम नै अभाव भयो ।’ खेलकुदलाई प्राथमिकता नदिनुले यस्तो परिस्थिती आएको अध्यक्ष गिरीको बुझाई छ । प्रतियोगितामा सक्रिय रुपमा सहभागीता जनाउन उहाँले खेलाडीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि चौकुने, बराहताल र सिम्ता गाउँपालिकाले ४०, लेकवेसी नगरपालिकाले ४० र गुर्भाकोट र भेरीगंगा नगरपालिकाले ६०र६० हजार रकम सहयोग गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले ४ लाख ७७ हजार बजेट दिएको छ भने वीरेन्द्रनगर नगरपालिकाले १ लाख ५१ हजार ७ सय २० रुपैयाँ उपलव्ध गराएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका १ हजार २ सय खेलाडीले प्रतिस्प्रधा गर्नेछन् । समितिले दिएको जानकारी अनुसार उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिवल गरी ६ खेलमा प्रतिस्प्रधा हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि १ सय २० जना प्राविधिक टिम परिचालन गरिनेछ । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गर्ने बताइएको छ । त्यस्तै, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्ग खत्रीको समेत विशेष उपस्थिती रहने आयोजकले जनाएको छ ।
खेल अवधीभर सुरक्षा र मेडीकल एवं प्राथमिक उपचारको व्यवस्था गरिनेछ । त्यस अवधीभर चौविसै घण्टा एम्बुलेन्स सेवा पनि दिइने आयोजकले जनाएको छ । प्रत्येक विधाका खेलमा प्राप्त गर्ने स्वर्ण पदकका आधारमा फाइनल नतिजा सार्वजनिक गरी कप दिइने पत्रकार सम्मेलनममा जानकारी दिइएको छ । उसु र तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र १२ काँस्य, कराँतेमा ८ स्वर्ण, ८ रजत र १६ काँस्य, एथलेटिक्समा ३८ स्वर्ण, ३८ रजत र ३८ काँस्य पदक दिइनेछ ।
त्यस्तै, कवड्डी र भलिवलमा १८ स्वर्ण, १८ रजत र १८ वटा काँस्य पदक दिइने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र सवै खेलाडी एवं खेलप्रेमीहरुलाई स्वागत गर्न आँफुहरु आतुर रहेको आयोजक जनता मा.वि. रानीवासका प्राधानाध्यापक विनोद यादवले बताउनुभयो ।