उच्च शिक्षाका लागि छात्रवृत्ती दिँदै कर्णाली सरकार (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १८ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले उच्च शिक्षाका लागि विभिन्न शिर्षकमा छात्रवृत्ती दिने भएको छ ।
सरकारले विशेषतः छोरी र बुहारीहरुलाई उच्च शिक्षामा सहयोग गर्ने भएको छ । प्राविधिक शिक्षामा महिलाहरुको पहुँच बृद्धि गर्न प्रदेश सरकारले छोरी र बुहारीलाई पढाउने भएको हो ।
आवश्यक सीप र दक्षता बृद्धिका लागि प्रदेश सरकारले प्राविधिक पढाउन छोरी बुहारीबाट आवेदन आह्वान गरेको हो ।
सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालयले प्राविधिक शिक्षा अध्ययनका लागि कर्णालीका छोरी र बुहारीबाट आवेदन माग गर्दै सूचना प्रकाशन गरेको छ ।
निर्देशनालयले ६ वटा विधामा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । छोरी बुहारी छात्रबृत्ति, प्राविधिक उच्च शिक्षामा अध्ययन गर्ने जेहेन्दार छात्रबृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि अपांग छात्रबृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि दलित छात्रबृत्ति, जेहेन्दार छात्रवृत्ति, कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा सहिद भएका व्यक्तिका छोराछोराका लागि छात्रवृत्ति प्रदान गर्ने गरी आवेदन माग गरेको छ ।
प्राविधिक शिक्षामा महिलाको पहुच स्थापित गरि आत्मनिर्भर बनाउने उद्देश्यले छोरी र बुहारी लक्षित गरि विभिन्न विधामा छात्रवृत्ति आह्वान गरिएको सामाजिक विकास मन्त्री दल रावलले जागरणलाई बताउनुभयो ।