यसरी अन्त्य भयो डाक्टर केसीको अनसन

काठमाण्डौँ, १८ माघ (जागरण) । पटक पटक विभिन्न माग गर्दै आमरण अनसन गर्ने गरेका प्राध्यापक डाक्टर गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गर्नुभएको छ ।
तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत उहाँले जनाउनुभएको छ ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उहाँले बताउनुभएको छ ।
यसअघि आफूहरु साथमा रहेकोले अनसन नतोड्न भन्दै आन्दोलन चर्काउनेहरुले नै अव अनसन फिर्ता लिन आग्रह गरेपछि केसीमाथि दवाव परेको थियो ।
यस्तै सेवा ठप्प पारेर आन्दोलन गरेका डाक्टरहरुलाई कारबाही गर्ने सरकारले चेतावनी दिएपछि अर्को दवाव परेको थियो ।
पहिला अनसनको पूर्ण समर्थन गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनसन फिर्ता लिन आग्रह गर्नुभएको थियो । त्यसपछि नागरिक समाजका नाममा आन्दोलन गरिरहेकाहरुले पनि फिर्ता लिन आग्रह गरेका थिए ।
केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिउनुभयो ।