वर्षदिनमा कर्णाली प्रदेश सभाका उपलव्धी पढ्नुहोस्

सुर्खेत, १९ माघ (जागरण) । एक वर्षको अवधिमा कर्णाली प्रदेश सभाका ६३ वटा बैठक सम्पन्न भएका छन् । अघिल्लो वर्ष माघ २१ गते कर्णाली प्रदेश सभाको पहिलो बैठक सञ्चालन भएको थियो । पहिलो बैठक संसद्का ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो ।
दुइटा अधिवेशन सम्पन्न गरेको कर्णाली प्रदेश सभाले ६३ बैठकमा ७६ घण्टा ११ सेकेण्ड खर्चिएको छ । २०७४ माघ महिनाको २६ गते बसेको बैठकले सभामुखमा राजबहादुर शाहीलाई नियुक्त गरेको थियो भने फागुन ५ गतेको बैठकबाट उपसभामुखमा पुष्पा घर्तीलाई सर्वसम्मत चयन गरिएको थियो ।
फागुन १२ गते बसेको सभाको चौथो बैठकबाट प्रदेश सभामा कायम दुई तिहाइभन्दा बढी मतले प्रदेश नं. ६ को नामाकरण कर्णाली प्रदेश गरेको थियो । सोही बैठकबाट प्रदेशको राजधानी वीरेन्द्रनगरलाई तोकेको हो ।
यस्तै, फागुन १५ गते बसेको पाँचौं बैठकबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सभाको विश्वासको मत प्राप्त गर्नुभएको थियो ।
दोस्रो अधिवेशनअन्तर्गत २०७५ जेठ अन्तिममा बसेका १३ औं, १४ औं र पन्ध्रौं बैठकबाट प्रदेश सरकरको नीति तथा कार्यक्रम पारित भएको थियो ।
एक वर्षको अवधिमा सञ्चालन भएका बैठकहरूमध्ये पहिलो अधिवेशनका दुइटा बैठकमा प्रतिपक्षी दलका सांसद्हरूले उभिएर विरोध जनाएका थिए । दोस्रो अधिवेशन अन्तर्गतको एउटा बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरूद्ध पारेका थिए ।
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशनको भने टुंगो लागेको छैन । संसद्को दोस्रो अधिवेशन कात्तिक १८ गते अन्त्य भएको थियो ।