बैशाखदेखि रारामा फ्री वाइफाई

सुर्खेत, २३ चैत (जागरण) ।
कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ ।
रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाइफाइको सेवा जडान गर्न लागिएको हो ।
सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्री वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।
पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच र्पुयाउन तथा उनीहरूलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिनुभयो ।
रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।