प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

काठमाण्डौं, २३ चैत (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार (आज) भारतको तीनदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारतको राजधानी नयाँदिल्ली जान लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नुहुनेछ । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
भारत भ्रमणको पहिलो दिन शुक्रबार ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ । दिल्ली पुगेलगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्िरया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँझ साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

शनिबार भ्रमणको महत्वपूर्ण दिन

प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन शनिबार भने महत्वपूर्ण छ । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग विहान ९ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।
त्यसैदिन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट हुनेछ । भेटघाटको क्रममा दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।
ओली भारतका बिशिष्ट पाहुना र फरक परिस्थितिमा भ्रमण भैरहेकोले मोदीले महत्वपूर्ण सहयोग घोषणा गर्न सक्ने भाजपा उपाध्यक्ष तथा सांसद भगतसिंह कोशियारीले जानकारी दिनुभयो ।
शुक्रबार नै हैदरावाद हाउसबाट ओली र मोदीले संयुक्तरुपमा पञ्चेश्वर जलविद्युत आयोजनाको शिलान्यास तथा वीरगञ्जमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी)को उदघाटन गर्ने कार्यक्रम छ ।
यस्तै शनिबार साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ ।
दिल्ली बसाइँको क्रममा प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय जनता पार्टीका नेता, कांग्रेस आईका नेता, भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
भारत भ्रमणको अन्तिम दिन आइतबार उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा ओली सहभागी हुनुहुनेछ । त्यहाँ विश्वविद्यालयले ओलीलाई डक्टरेटको सम्मानार्थ उपाधीबाट बिभूषित गर्ने छ ।
प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रमण्डलमा कलाकार पनि

प्रधानमन्त्री ओलीको भ्रमण दलमा दुई कलाकारलाई पनि सहभागी गराइएको छ । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमाल र चलचित्र निर्देशक एवं सञ्चारकर्मी दिनेश डिसी भ्रमण दलमा अटाएका छन् । प्रधानमन्त्रीको विदेश भ्रमणमा कलाकारलाई सहभागी गराइएको यो सम्भवत पहिलो घटना हो ।

केही दिन प्रधानमन्त्री ओलीले निजी निवासमा कलाकारसँग छलफल गर्नुभएको थियो ओलीले कलाकारलाई कथाले मागेअनुसार नभई देशको आवश्यकताअनुसार काम गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भारतीय कलाकारसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

नाकाबन्दी र संविधानमा मोदी स्वयं महसुस

मधेस आन्दोलनलगत्तैको नाकाबन्दी र संविधान घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्युरोक्रेसीका आँखाबाट हेर्दा असहज परिस्थिति बनेको तर्क गर्दै मधेसका प्रबुद्ध वर्गले ३० महिनायता भने सम्बन्ध विश्वासमा परिणत हुँदै गएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा मधेसका विभिन्न पेसामा आबद्ध प्रबुद्ध समुदायले भने, ‘ओलीको यो भ्रमण गणतन्त्रपछिको सबैभन्दा परिणममुखी हुनेछ । ओली प्रधानमन्त्री भएकै रात मोदीले टेलिफोनमार्फत दिएको शुभकामना सन्देशले नै यसको संकेत गरेको छ।’ नाकाबन्दीलाई संविधानको घोषणासँग जोड्दै भारतीय ब्युरोक्रेसीले गरेको भ्रमपूर्ण सन्देशलाई मोदीले आहिले चिन्न सफल भएको दाबी उनीहरूको छ ।
स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वाम शक्तिको विजय र ओली नेतृत्वमा शक्तिशाली सरकार गठन भई नेपाल अघि बढिरहेको सन्र्दभमा मोदी स्वयंको एकल गृहकार्यबाट हुन लागेको यो भ्रमण समग्रमै उपलब्धिमूलक हुने दाबी उनीहरूको छ । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रप्रमुखकै इज्जत र सम्मान गर्ने तयारी गरिरहेको उनीहरूको दाबी छ ।
पूर्वराजदूत श्यामानन्द सुमनले तीन चौथाइ बहुमतसहितको सरकार प्रमुखका हैसियतमा भ्रमणमा जान लागेका ओलीको स्वागतका लागि भारतले पनि सोही हिसाबमा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नाकाबन्दीका बेला दुवै पक्षमा रहेको गलत भ्रम तथा दुवै पक्षबीच रहेको विवाद एक हदसम्म अन्त्य भइसकेको छ। भारतीय ब्युरोक्रेसीले मोदीलाई पठाएको सूचनाबाट परेको अप्ठ्यारोलाई मोदीले महसुस गरेकोले ओली भ्रमण सोचेभन्दा बढी सफल हुने देखिन्छ।’
वाम गठबन्धनले सबै चुनावमा जित्नुको कारण र ओलीलाई मोदीले दिएको बधाई सन्देशले पनि दुई देशबीचको सबै तिक्तता अन्त्य भएको दाबी सुमनले तर्क गर्नुभयो ।
संविधानको घोषणालाई तत्काल समर्थन नगरे पनि अहिले आएर घुमाउरो रूपमा मोदीले समर्थन जनाएको दाबी पूर्वराजदूत सुमनको छ । यो भ्रमणको उद्देश्य कुनै प्राजेक्टमा भन्दा पनि ओली–मोदीको मिलन हुनु सबैभन्दा ठूलो उपलब्धि हुने उहाँको धारण छ । ज्येष्ठ नागरिक सप्तरीका अध्यक्ष शंकर शुक्रदले यो भ्रमण दुवै देशका साझा मुद्दाको निकासका लागि ऊर्जा हुने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो भ्रमणले मधेस आन्दोलन, नाकाबन्दी र संविधानबारे भारतीय पक्षमा रहेको आशंकाको अन्त्य गर्दै नेपालको आर्थिक विकासमा भारतीय पक्षको लगानी भित्रिने छ । हुलाकी राजमार्ग, सीमा अतिक्रमण, सीमा सहजता र सीमा अपराधको अन्त्य गराउन भ्रमणको उद्देश्य भए तराई मधेसका २२ जिल्लाका ५१ प्रतिशत जनसमुदाय लाभान्वित हुनेछन्।’
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा.सोहन कर्णले प्रधानमन्त्रीले नयाँ एजेन्डामा नभई पञ्चेश्वर एवं हुलाकी राजमार्गमा केन्द्रित रहेनुपर्नेमा जोड दिनुभयो ।