मुना हमाल ।
सुर्खेत, २४ माघ (जागरण) । गीत त तपाई हामी सवैले सुन्छौँ र हेर्छौँ पनि । तर त्यस्ता गीतलाई कर्णप्रिय बनाउनका लागि संगीतको भूमिका महत्वपूर्ण हुन्छ । अर्थात् पर्दा पछाडिका हिरो भनेर पनि संगीतकारहरुलाई बुझिन्छ र हो पनि त्यही । कर्णाली प्रदेशको संगीतिक क्षेत्रमा एउटा अमिट् नाम हो, यज्ञ गिरी ।
परिवारमा पनि साँगीतिक माहोलमा हुर्किनुभएका संगीतकार यज्ञ गिरी । पारिवारिक माहोलकै कारण पनि उहाँको यात्रा संगीततर्फ होमियो भन्दा फरक पर्दैन । उहाँको बुवा र दाईले घरमा सवै खालका बाजा राख्नुभएको थियो । जव गिरी किशोरावस्थामा पुग्नुभयो चौध/पन्ध्र वर्षकै उमेरमा उहाँले संगीत भर्न सिक्नु भयो । त्यही चासो र परिश्रमका कारण सयौँ गीतमा संगीत गर्नुभएका गिरीले राष्ट्रिय अवार्ड पाउने सफलता पनि प्राप्त भयो ।
उहाँले आधुनिक गीतसंगै राष्ट्रियताले ओतप्रोत गीतहरुमा पनि संगीत भर्नुभएको छ । जगदिश समालले गाएको हे नेपाल आमा करुणामयी लगयतका गीतमा पनि संगीत यज्ञ गिरीकै छ ।
उहाँले विभिन्न चलचित्रका गीतहरुमा पनि संगीत भर्नुभएको छ । वि.सं. २०२२ माघ ५ गते सुर्खेतको वीरेन्द्रनगरमा जन्मिनु भएका गिरी शिक्षण पेशासंगै संगीत क्षेत्रलाई पनि अघि बढाउनुभयो ।
सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका गिरीको विचारमा सरकारले गीतसंगितको क्षेत्रलाई सकारात्मक दृष्टिले हेर्न सकेको छैन । सरकारले पाठ्य पुस्तकमा संगित विषय राखेपनि त्यही अनुसार शिक्षक नराख्दा प्रभाकारी हुन नसकेको उहाँको भनाई छ ।
सुन्नुहोस् अडियो रिपोर्ट सृजना बुढाथोकीबाटः