ओलीको भारत बसाईः ‘तनाव हुँदैन-लगानी गर्नुस्’

नयाँ दिल्ली, २३ चैत (जागरण) । तीन दिने राजकिय भ्रमणका लागि भारत पुग्नुभएका नेपालका प्रधानमन्त्री केपी ओलीले त्यहाँ भएका सार्वजनिक कार्यक्रममा सहभागिता र भेटघाट शुरु गरिसक्नुभएको छ ।
जसअन्तर्गत नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुसँग भेटघाटका साथै कार्यक्रमलाई सम्वोधन पनि गर्नुभएको छ । त्यस बेला ओलीले भारतमा बस्ने नेपालीले छिमेकीसँगको सम्बन्ध तनावपूर्ण हुन्छ कि भनेर चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भारतसँगको भ्रम र असमझदारी हटेको बताउनुभएको छ ।
छिमेकीहरुसँग समानता, बराबरी र पारस्परिक सहयोगात्मक सम्बन्ध विकास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकीको साथ लिएर अघि बढ्ने बताउनुभयो ।
नेपालमा अहिले आफ्नो नेतृत्वमा इतिहासकै सु्दृढ सरकार बनेको बताउदै प्रधानमन्त्री ओलीले आर्थिक उन्नती र लोकतन्त्रको सुदृढिकरणका लागि जनताले आफूलाई गरेको विश्वासलाई तलमाथि हुन नदिने बताउनुभयो ।
यस्तै आजै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित होटल ताज प्यालेस होटलमा आयोजित कार्यक्रममा भारतीय उद्योगी, व्यापारी तथा लगानीकर्तालाई सम्बोधन गर्दै बोल्दै उहाँले नेपालमा लगानीका सम्बन्धमा कुनै आशंका नपाल्न आग्रह गर्नुभयो ।
उहाँले खुलाबजार अर्थतन्त्र र यसको विश्वब्यापी मान्यताप्रति नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको पनि भारतीय लगानीकर्तासामू बताउनुभयो ।
नेपालमा लगानीका लागि आवश्यक संरचना र नीतिगत व्यवस्थाको सुनिश्चितता रहेको दावी प्रधानमन्त्री ओलीले गर्नुभयो ।
प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको अधिकार सम्पन्न लगानी बोर्डमार्फत एकद्वार प्रणालीबाट ठूला लगानीकर्तालाई सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
उहाँले करको दर न्यून रहेको, केही औद्योगिक क्षेत्रमा कर छुट र ‘ट्याक्स होलिडे’ को व्यवस्था रहेको, निर्यातजन्य उद्योगका लागि निश्चित वस्तु आयातमा भन्सार र शूल्क मिनाहा, कमाएको नाफा रकम विदेश लैजान सहज कानूनी व्यवस्था रहेको लगायतको लगानी प्रवर्द्धनका लागि नेपालले कानूनी व्यवस्था गरेको चर्चा गर्नुभयो ।
आन्तरिक (स्वदेशी) र बाहृय (विदेशी) लगानीकर्ताबीच कुनै भेदभावको नीति सरकारले नलिएको उहाँले प्रष्ट पार्नुभयो ।
निजी उद्योगलाई राष्ट्रियकरण नगर्ने सुनिश्चितता पनि उहाँले दिलाउनुभयो ।
नेपालको सस्तो श्रमशक्ति लगानीकर्ताका लागि अर्को फाइदाजनक कुरा भएको दावी उहाँको छ ।
पाँचवटा सीमावर्ती विन्दुमा भइरहेको रेल्वे सञ्जाल विस्तार, मुलुकभरका औद्योगिक केन्द्रहरूमा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा ल्याउने तयारी गरिरहेको, चाँडै नै सञ्चालनमा ल्याउन लागिएको वीरगञ्जसँगै मुलुकका अन्य तीन स्थानमा पनि आधुनीक एकीकृत जाँचपास चौकी (आइसीपी) सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।
विकासका लागि पूर्वाधार अत्यावश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सञ्जाल विस्तारका लागि ‘क्रसबोर्डर’ पूर्वाधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
कृषि, उद्योग, खानी, कृषि, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्र वैदेशिक लगानीका लागि खुला रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।
भारतसँग भएको विद्युत खरिद सम्झौता भइसकेको र जलविद्युतलाई उपयोग गरेर यसबाट दुवै देशले फाइदा लिनसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।
नयाँ ट्रान्समिसन लाइन स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले भारतीय व्यावसायीहरूलाई गराउनुभयो ।

-एजेन्सीबाट