सुर्खेत, २६ चैत (जागरण) । सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सुरु गरेको छ । नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौंसम्म सिधा उडान सुरु गरेको हो ।
प्रदेश सरकारको पहलमा नेपाल एयरलाइन्सको १८ सीट क्षमताको जहाजले आइतवारबाटै उडान थालेको छ ।
योसँगै अब कर्णालीका नागरिकले काठमाडौंसम्म सिधा हवाइ सेवा प्राप्त गरेका छन् । नेपाल एयरलाइन्सले उडान सुरु गरिसकेको छ भने अब बुद्ध एयरले बैशाख १ गतेबाट उडान गर्ने तयारी गरिरहेको छ ।
सुरुवातमा नेपाल एयरलाइन्सले हरेक हप्ताको आइतवार मात्र उडान गर्नेगरी आफ्नो सेवा सुरु गरेको छ । यात्रुको चाप अनुसार उडान थप हुने नेपाल एयरलाइन्सले जनाएको छ । हाललाई सुर्खेतबाट काठमाडौंका लागि सात हजार चार सय भाडादर तोकिएको छ ।
यस्तै काठमाडौबाट सुर्खेतका लागि भने सात हजार पाँच सय रुपैंयाँ भाडा तोकिएको छ । यस्तै बैशाख १ गतेबाट बुद्ध एयरले पनि सुर्खेतदेखि काठमाडौं उडान गर्दैछ ।