सुर्खेत, १ फागुन (जागरण) सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को १४ औँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन आजदेखि वीरेन्द्रनगर सुर्खेतमा शुरु हुँदैछ ।
विश्व रेडियो दिवसको समेत अवसर पारेर आजदेखि पर्सीसम्म हुने साधारणसभाको क्रममा विहान साढे सात बजे वीरेन्द्रचौक देखि भव्य र्यालीसहित सभा स्थल शुभ होटलमा प्रस्थान गर्ने छ । सभामा सामुदायिक रेडियोहरुले हाँसिल गरेका उपलव्धी, चुनौति र आगामी बाटोका बिषयमा छलफल हुने अकोरावका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।
बढ्दो असमानता न्युनिकरणमा सामुदायिक रेडियो, विपद् तथा चुनौतिहरुको सामना गर्नसक्ने सक्षम समुदाय निर्माणमा खेलेको भुमिकाको चर्चा सम्मेलनमा हुने छ ।
अध्यक्ष खतिवडाकाअनुसार लामो संक्रमणको अन्त्य गरेर राजनितिक स्थायित्व र समृद्धि तर्फको यात्रामा सामुदायिक रेडियो संवाद, सुचनाको पहुँच र सुशासन अभिबृद्धिमा पुर्याउन सक्ने योगदानको बिषयमा छलफल हुने छ ।
कर्णाली जलस्रोत, पर्यटन र अनौठो प्राकृतिक बनोटलाई उजागर गर्न कर्णाली प्रदेशमा अकोराबको राष्ट्रिय सम्मेलन गर्न थालिएको हो ।
नेपालमा सामुदायिक रेडियो प्रसारणको इतिहासले दुई दशक पुरा गरिसकेको छ । नेपालमा सञ्चालित ३ सय ५० एफ. एम. रेडियो सामुदायिक प्रशारक संघ नेपालमा आवद्ध छन् ।